‘सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सरकार पुराना ऐन कानून परिवर्तन गर्न लागिपरेको छ’

काठमाडौँ । प्रजातन्त्रको उदयसँगै स्थापना भएको राष्ट्रिय समाचार समितिले विश्वसनीय र जनउत्तरदायी पत्रकारितामार्फत मुलुकको समृद्धिमा योगदान पुर्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।
६४ औँ वार्षिकोत्सवका अवसरमा राससले आयोजना गरेको विशेष समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली पत्रकारिताका समाचार कक्षहरू साँघुरिँदै गइरहेको अवस्थामा राससले विश्वसनीय समाचार उत्पादन र वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुक संघीय लोकतान्त्रिक प्रणालीमा गइसक्दा पनि कतिपय ऐन कानुनहरू पुरानै भएकाले विकास र सुशासनमा फड्को मार्न नसकिएको बताउनुहुँदै मन्त्री गुरुङले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सरकार पुराना ऐन कानून परिवर्तन गर्न लागिपरेको बताउनुभयो ।

समारोहमा मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको संविधानले व्यवस्था गरेको प्रत्येक नागरिकले सुसूचित हुने अधिकार कार्यान्वयन गर्न सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

यस अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पछिल्लो समय राससले अडियो भिडियो सेवाका साथै भाषाभाषीका समाचार सेवा समेत सुरु गर्नु ऐतिहासिक भएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरूले उचित पारिश्रमिक पाउनुपर्नेमा जोड दिनुभयो ।
राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले गुणस्तरीय समाचार सेवा राससको प्राथमिकता भएको बताउनुभयो ।

वार्षिकोत्सवका अवसरमा राससले आफ्ना कर्मचारीलाई विभिन्न पुरस्कार तथा सम्मान गरेको छ ।
यस अवसरमा रासस पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार विक्रम गिरी पुरस्कृत हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्