फाखेल हुँदै चखेल-मातातीर्थ सडक डेढ महिना बन्द हुने
मकवानपुर । हेटौँडा–काठमाडौँ छोटो दुरी सडक खण्डअन्तर्गत फाखेल हुँदै चखेल-मातातीर्थ जाने सडक करिब डेढ महिना बन्द हुने भएको छ। इन्द्रसरोवर गाउँपालिका–५ ले सूचना जारी गर्दै आइतबार (आज) बाट चैत्र २१ गतेसम्म सडक बन्द रहने जानकारी गराएको छ।

वडा अध्यक्ष दुतराज तितुङका अनुसार सडकको मोडहरूमा ढलान कार्य गर्नुपर्ने भएकाले आवागमन रोकिएको हो। महालक्ष्मी दोभान-घट्टेखोला-चखेल हुँदै मातातीर्थ जोड्ने सडकखण्डअन्तर्गत देउराली-मातातीर्थ खण्डमा सडक निर्माण कार्य भइरहेकाले अस्थायी रूपमा यातायात बन्द गरिएको उहाँले बताउनुभयो।
हाल हेटौँडा-काठमाडौँ छोटो दुरी सडक खण्डमध्ये यो मार्ग धेरैको प्राथमिकतामा रहेको छ। सडक निर्माण तथा स्तरोन्नति कार्य भइरहेकाले केही समयका लागि बन्द गर्नुपर्ने अवस्था आएको अध्यक्ष तितुङले जानकारी दिनुभयो।
यस अवधिमा सवारी चालकहरूलाई फाखेल(दक्षिणकाली वा कुलेखानी-मार्खु-चित्लाङ-चन्द्रागिरि मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्