दाङको बंगलाचुलीमा पाँचौँ राष्ट्रपति रनिङ सिल्ड सुरु
दाङ । दाङको बंगलाचुलीमा पाँचौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/image3-3-1024x768.jpeg)
बंगलाचुली गाउँपालिकाको आयोजना तथा महेन्द्र नमुना माध्यमिक विद्यालय श्रीवारीको व्यवस्थापनमा रनिङ सिल्ड सुरु भएको हो ।
प्रतियोगिता बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरको प्रमुख आतिथ्यता र बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट आतिथ्यमा रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले बंगलाचुलीको समग्र सम्भावनाबारे प्रकाश पार्दै भौतिक, सामाजिक र सांस्कृतिक विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो। बंगलाचुलीको भौगोलिक विशेषता फरक रहेको उल्लेख गर्दै सभामुख घर्तीले यहाँको स्थानीय उत्पादनलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरले प्रतियोगिता बंगलाचुलीका लागि महत्वपूर्ण अवसर रहेको बताउनुभयो। साथै, गाउँपालिकाले शैक्षिक एवं खेलकुद क्षेत्रको विकासका लागि आवश्यक नीतिहरू ल्याउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।
गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले बंगलाचुलीको खेलकुदसँगै विभिन्न क्षेत्रको विकासमा गाउँपालिका लागिपरेको बताउनुभयो ।
रनिङ सिल्ड प्रतियोगितामा बंगलाचुलीका ६ वटा माध्यमिक विद्यालयहरू महेन्द्र माध्यमिक विद्यालय स्युजा, सुधा माध्यमिक विद्यालय झेलनेटा, माध्यमिक विद्यालय भेडाबारी मुलाबारी, सरस्वती माध्यमिक विद्यालय जवरकोट, खड्ग माध्यमिक विद्यालय हाँसिपुर र प्रतियोगिता व्यवस्थापनको जिम्मा पाएको महेन्द्र माध्यमिक विद्यालय श्रीवारीको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्