बागमती प्रदेशसभामा ५ वटा विधेयक पेस
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/Pradesh-sava1.jpg)
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकमा ५ वटा विधेयक पेस भएको छ । प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो दिन (माघ १८) गते बसेको बैठकमा पेस गर्ने तयारी गरिएको विधेयकहरू आजको बैठकमा पेस गरिएको हो ।
विशेषगरी दलहरूबीच बजेट कार्यान्वयनका विषयमा विपक्षी दलहरूसँग सहमति नजुट्दा यसअघिको बैठकमा पेस गर्ने तयारी गरिएको विधेयक अन्तिम अवस्थामा रोकिएको थियो । तर, सभामुख भूवनकुमार पाठकले हिजो सर्वदलीय छलफल गरेर दलहरुबीच सहमति जुटाउनु भएपछि आजको बैठकमा विधेयक प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो । आजको बैठकमा संशोधनका लागि दर्ता भएको ४ र प्रदेश प्रमुखबाट फिर्ता भएको एक विधेयक सहित ५ वटा विधेयक पेस भएको हो ।
बैठकमा स्वास्थ्य मन्त्री किरण थापाको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्नुभएको थियो । भने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद ऐन संशोधन विधेयक प्रदेशसभामा टेबल गर्नुभएको हो ।
त्यस्तै बैठकमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्नुभएको थियो ।
बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः विचारका लागि संसद्मा पेस भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले उक्त विधेयकमा प्रदेश प्रमुख देवकोटाले औँल्याएका कमजोरी र सुझावको प्रतिवेदन सहित पेस गर्नुभएको हो ।
बुधबार नै बसेको दोस्रो बैठकले ती विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत समेत गरेको छ । उक्त विधेयकहरू प्रदेशसभाको यसै अधिवेशनमा पारित गर्ने प्रदेशसभाले तयारी गरेको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी आजका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्