राजनीतिकर्मीले खेलकुदबाट अनुशासन सिक्न आवश्यक : गृहमन्त्री लेखक
पोखरा । गृहमन्त्री रमेश लेखकले राजनीतिकर्मीले खेलकुदबाट अनुशासन सिक्न आवश्यक भएको बताउनुभएको छ ।
बुद्ध टोल युवा क्लबको आयोजनामा पोखरामा मङ्गलवारदेखि सुरु भएको आठौँ विरेन स्मृति एवम् १८ औँ बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री लेखकले खेलकुदमा भएको जस्तो नियममा बस्न राजनीतिकर्मीले सिक्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले अहिले युवाहरू कुलतमा फसिरहेकाले युवा क्लबहरूले जनचेतनामूलक कार्यक्रमहरू अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । युवा क्लबहरूले लागूऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताउँदै गृहमन्त्री लेखकले युवाहरूलाई लागू औषधबाट जोगाउन खेलकुद, अध्ययन, समाज सेवासँगै राजनीतिमा जोड्न आग्रह गर्नुभयो ।
पोखरामा आजदेखि आठौँ विरेन स्मृति १८ औँ बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक बुद्ध टोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष आशिम थापाले जानकारी दिनुभयो ।
यस्तै दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोलले पराजित गर्यो ।
बुद्ध टोल युवा क्लबको आयोजनामा पोखरामा आजबाट सुरु भएको आठौँ विरेन स्मृति एवम् १८ औँ बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव रेशम सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्