तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश संरचनाको बारेमा सकारात्मक विचार प्रवाह गर्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाई

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले, प्रदेश संरचनाको बारेमा जनमानसमा सकारात्मक विचार प्रवाह गर्नुपर्ने बताउनु भएको छ । 

कोशी प्रदेशसभाको ७ औँ वार्षिकोत्सवलाई आज विराटनगरमा संवोधन गर्नुहुँदै उहाँले प्रदेश संरचना बोझिलो र खर्चिलो भयो भन्ने भाष्य सृजना गर्दै यसलाई कमजोर बनाउने प्रयास भइरहेकाले प्रदेश संरचनाको विषयमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा स्थापना भएपछि विगत सात वर्षको अवधिमा विकास निर्माणसँगै हरेक क्षेत्रमा जनताको सहज पहुँच पुगेको उहाँको दाबी थियो ।

मुख्यमन्त्री कार्कीले नेकपा एमाले र नेपाली कांग्रेसको बीचको गठबन्धन सरकार बनेपछि मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै प्रदेश सरकारले भौतिक तथा वित्तीय प्रगति लक्ष्य अनुसार हासिल हुन थालेको बताउनुभयो ।

कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले, जनताका हित नै प्रदेश सभाको सर्वोपरि लक्ष्य भएकाले जनतालाई आर्थिक रुपमा सफल र सबल बनाउन सके प्रदेशका औचित्य सावित हुने बताउनुभयो । 

प्रदेश सभाका उप–सभामुख सृजना दनुवारले सीमित साधान श्रोतका बाबजुद प्रदेशसभाले प्रदेशसभाबाट विगत सात वर्षमा उल्लेखनीय रुपमा कानुनहरु निमार्ण गरेको चर्चा गर्नुभयो ।  

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेश सभालाई बलियो बनाउने गरि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेश सभाका पूर्व सभामुख प्रदीप भण्डारी, नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ, नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बाे, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, एकिकृत समाजवादी पार्टीका विद्या चाम्लिङ राई तथा जनता समाजवादी पार्टीका संसदीय दलका नेता निर्मला लिम्बु, कोशी प्रदेश सभा सचिवालयका सचिव गोपाल पराजुली लगायतले प्रदेशसभालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा प्रदेश सभा सचिवालयमा कार्यरत प्राविधिक अधिकृत विरेन्द्र चौधरीलाई नगद सहित कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button