सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै
बागमती I यही माघ २३ गतेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको आह्वानमा आज दिउँसो ३ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।
प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते मात्र सुरु भएको थियो । उक्त बैठकमा तीनवटा विधेयक पेस गर्ने भनिए पनि दलहरूबीच विशेषगरी बजेट कार्यान्वयनका विषयमा सहमति नजुट्दा विधेयक पेस हुन सकेनन् । यही कारण आगामी बैठकलाई प्रभावकारी बनाउन सभामुख पाठकले सर्वदलीय छलफलको पहल गर्नुभएको हो ।
सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् । यी विषयमा दलहरूबीच थप छलफल आवश्यक रहेको जनाउँदै सभामुखले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेमा माघ २३ गते बस्ने बैठकमा विधेयक प्रस्तुत गर्ने र अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्ने मार्गप्रशस्त हुने अपेक्षा गरिएको छ । संसदीय प्रक्रियालाई प्रभावकारी बनाउँदै प्रदेशसभालाई नियमित सञ्चालन गर्ने उद्देश्यले सभामुख पाठकले सबै दललाई संवादका लागि आह्वान गर्नुभएको हो ।
सर्वदलीय बैठकले प्रदेशसभाको आगामी कार्यसूचीलाई सहज बनाउनेमात्र होइन, दलहरूबीचको समन्वयलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । रासस
प्रतिक्रिया राख्नुहोस्