तपाईँ सुन्दै हुनुहुन्छः

वैकल्पिक पेसाका रुपमा आरन पेशा अङ्गाल्दै बादी समुदायका युवा

बाँके । पुर्खाले गर्दै आएको पेशा लोप हुँदै गएपछि कोहलपुर–१३, भरैयाका बादी समुदायका युवाहरूले वैकल्पिक पेशाको रुपमा आरनको काम गर्दै आएका छन् ।

भरैयाकै ३१ वर्षीय रामबहादुर बादीले विगत १८ वर्षदेखि आरनको काम गर्दै आफ्नो दैनिक जीवनयापन गरिरहनुभएको छ। पुर्खौली रूपमा मादल बनाउने पेशा अङ्गाल्नुभएको उहाँका बाजेको पेसा बुवाको पुस्ताबाट नै हराउन थालेको थियो। रामबहादुरका बुवाले आरनको काम गर्न थालेपछि उहाँले पनि पनि १३ वर्षको उमेरदेखि हँसिया, खुर्पा र अन्य औजार बनाउँदै यो पेसालाई अँगाल्न बाध्य हुनुभयो ।

जाडो सिजनमा घरमै बसेर आरनको काम गर्दै आउनुभएका रामबहादुर गर्मीको समयमा रोजगारीका लागि भारतको कालापहाड जाने गर्नुहुन्छ। उहाँले अहिलेका दिनमा पुराना औजार मर्मतदेखि नयाँ औजार बनाउने काम गर्नुहुन्छ। सानो खुर्पाको मूल्य २ सय देखि ६ सय रुपैयाँसम्म राख्नुभएको छ भने ठूला दाउ र खुर्पाका लागि १ हजारदेखि २ हजार रुपैयाँसम्म मूल्य निर्धारण गर्नुभएको छ। तर, गाउँ गाउँ पुगेर औजार बेच्दा आफ्नो मेहनतअनुसारको आम्दानी गर्न नसकेको उहाँको गुनासो छ।

रामबहादुरका अनुसार, बादी समुदायको परम्परागत पेसा मादल बनाउने लोप हुँदै गएको छ। बुवाको पुस्ताले आरनको काम थाले पनि यो पेसाबाट परिवार चलाउन कठिन भइरहेको छ।

स्थानीय तहले पिछडिएको र आर्थिक रूपमा कमजोर समुदायलाई खासै सहयोग नगरेकोमा रामबहादुरको गुनासो छ। “हामीलाई सहुलियत दिनु त परको कुरा, हामीप्रति कुनै चासो र ध्यान दिएको देखिँदैन,” उहाँले बताउनुभयो।

यस्तै भरैयाकै आइते बादीले पनि सानै उमेरदेखि आफ्नो हजुरबुबा अनि बुबाले यही काम गरेको देख्दा र सिक्दासिक्दै अहिले आफूले पनि यही पेशाबाटै गुजरा चलाइरहेको बताउनुभयो ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार, स्थानीय सरकारले बादी जस्ता पिछडिएको समुदायको समस्या समाधानका लागि पहल गर्दै आएको र अब थप आर्थिक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गरेर समुदायलाई मुख्य धारमा ल्याउने योजना बनाउँदै छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button