हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकारले बहुमतको दम्भमा अध्यादेश ल्याएको पनि चर्चा गर्नुभयो ।
अध्यादेश ल्याउनु सरकारको अधिकार भए पनि यसले संसद्को भूमिका र राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र कमजोर बनाउने उहाँको भनाइ थियो । सांसद पाण्डेले दुई तिहाइ भएका बेला सरकार जे गरे पनि हुन्छ भन्ने शैलीमा प्रस्तुत हुन नहुने बताउनुभयो । सरकार गठनको करिब सात महिना अवधिमा उल्लेख्य केही सुधार नभएको पनि उहाँको दाबी थियो ।
त्यस्तै, सबै निर्वाचन क्षेत्रका लागि रणनीतिक सडक निर्माण र सबै पालिकामा स्वास्थ्यचौकी निर्माणको कार्य निकै सुस्त रहेको पाण्डेले बताउनुभयो । बूढीगण्डकी जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शीघ्रताका साथ अघि बढाउन पनि उहाँले माग राख्नुभयो । कृषिमा आत्मनिर्भर हुने कुरामा सरकारको ध्यान जान नसकेको समेत उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्