‘चक्रपथको गलत डिजाइनका कारण कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाए’
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनका कारण कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको दाबी गर्नुभएको छ ।
आज ललितपुर महानगरको वडा नं १३ र १४ को सिमानाबाट वडा नं २५ लाई जोड्ने नख्खु खोला पुलको उद्घाटनका अवसरमा महानगरप्रमुख महर्जनले वडा नं १३ मा पर्ने कुसुन्तीमा १८ जना र वडा नं ३ मा पर्ने धोबीघाटमा ३२ जनाले ज्यान गुमाएको उल्लेख गर्दै समस्या समाधानका लागि अपाङ्गतामैत्री पुल निर्माणका लागि महानगरपालिकाले अग्रसरता लिएको बताउनुभयो ।
“हामीले सुरुमै चक्रपथको डिजाइन गलत छ भनेका थियौँ, ललितपुर खण्डमा पर्ने सात दशमलव नौ किलोमिटर सडकमा बत्ती नहुँदा रातको समयमा धेरैले ज्यान गुमाएका छन्, चक्रपथको धोवीघाटमा मात्रै ३२ जनाले ज्यान गुमाउनुपरेको छ, सरकारले सुधार गर्न अनुमति नदिएका कारण समस्या भएको छ, तर हामी प्रयासरत छौँ”, उहाँले भन्नुभयो । उहाँले नख्खुमा बनेको पुल उद्घाटन गर्दै सम्पदा र संस्कृतिको सहरका नागरिकलाई सहज दैनिकीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुसुन्तीमा नेपालमै पहिलो पटक लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण हुने बताउनुभयो । उहाँले पाटन अस्पतालको मुख्य गेटमा भएको ट्राफिक समस्या समाधानका लागि पुल निर्माणका लागि डिजाइन भएको समेत जानकारी दिनुभयो ।
महानगरका प्रवक्ता एवं वडा नं ९ का अध्यक्ष राजु महर्जनले यस वर्ष तीन वटा पुल निर्माण हुने जानकारी दिनुभयो । वडा नं १४ का अध्यक्ष अमृतजङ्ग महतले पनि नख्खु खोलामा निर्माण भइरहेको पुल छिट्टै सम्पन्न हुने बताउनुभयो । वडा नं १३ का अध्यक्ष गणेश केसीले यो पुल निर्माणले नख्खुको जाम कम गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
महानगरका इन्जिनियर प्रदीप पौडेलले विसं २०७९ भदौ १३ मा पुल निर्माणका लागि सम्झौता काम सुरु भई गत मङ्सिर २० गते सम्पन्न भएको जानकारी दिनुभयो । निर्माण कम्पनी तामाङ मरिन कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको मोटरेबल पुलको लागत तीन करोड तीन लाख ६१ हजार आठ सय ५३ रुपैयाँ ३१ पैसा छ । त्यसअवसरमा समयमै काम पूरा गर्ने निर्माण कम्पनी तामाङ मरिन कन्स्ट्रक्सन प्रालिलाई नगरप्रमुख चिरीबाबु महर्जनले कदर पत्र र दोसल्लासहित सम्मान गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्