तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन: थालिएका काममा प्रगति हुँदैछ

काठमाडौँ । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्नुहुँदै विकास निर्माणमा थालिएका कामको प्रगति भइरहेको बताउनुभएको छ ।

उहाँले मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनुहुँदै महत्वपूर्ण आयोजनाको प्रगति प्रस्तुत गर्नुभयो । प्रधानमन्त्री ओलीले हालै सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनु एक उपलब्धि भएको उल्लेख गर्दै सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङमार्गको योजना अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले काठमाडौँ–तराई मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको धेद्रे सुरुङ तथा चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथाङ्का सडक मार्गसमेत केही दिनअघि मात्रै ‘ब्रेक थ्रु’ भएको अवगत गराउनुभयो । प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम द्रुतगतिमा अघि बढिरहेको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेल मैदानलाई रङ्गशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णयबमोजिम बोलपत्र आह्वान भई तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्ने गरी काम अघि बढिरहेको जानकारी दिनुभयो । 

“यस्तै, सुर्खेतमा आधुनिक कर्णाली रङ्गशाला तयार भएको छ । विकास निर्माणका काममा ‘ब्रेक–थ्रु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि अगाडि बढाएका छौँ”, प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button