मिथिला भित्ते चित्रकला संरक्षणको प्रयास शुरु
जनकपुरधाम । मिथिलाञ्चल लगायत ग्रामीण क्षेत्रमा घरको भित्तामा कोरिने परम्परागत मिथिला चित्रकला लोप हुन थालेपछि यसको संरक्षणको प्रयास शुरु भएको छ। विशेषत: कच्ची घरको निर्माणमा कमी आउँदा र पक्की घरहरूको निर्माणको प्रचलन बढ्दै जाँदा परम्परागत भित्ते चित्रकलामा गिरावट आएको छ। यसलाई संरक्षण गर्ने उद्देश्यले जनकपुरधामको प्रसिद्ध नारि विकास केन्द्र कुँवाले पहल गरेको छ।
नारी विकास केन्द्रका महिला चित्रकारहरूले जनकपुरधामको वडा नं. १५ कुँवामा रहेका १० घरका भित्तामा मिथिला चित्रकला कोर्ने कार्यमा सक्रियता जनाएका छन्। यी चित्रकारहरू परम्परागत रंगहरूको प्रयोग गर्दै चित्रकलालाई जीवित राख्ने प्रयासमा छन्। अहिले पनि नारी विकास केन्द्रमा ४० भन्दा बढी महिलाहरू मिथिला चित्रकलामा सक्रिय छन्।
यस पहलका बारेमा जानकारी दिँदै वरिष्ठ मिथिला चित्रकलाका प्रशिक्षक मंजुला ठाकुरले भन्नुभयाे, “परम्परागत मिथिला चित्रकला संरक्षण गर्नका लागि जनकपुरधामको वडा नं. १५ कुँवामा चित्रकला कोर्ने काम भईरहेको छ। यसका साथै, मैले देश विदेशका अनुभवहरू पनि प्राप्त गरेको छु।”
अर्की चित्रकार मधुमाला मण्डलले भन्नभुयाे, “घरको भित्तामा कोरिएको मिथिला चित्रकला ग्रामिण जनजीवनको जीवित चित्रण हो, जसको संरक्षण अत्यन्त आवश्यक छ। पक्की घरहरूको निर्माण बढ्दै जाँदा यो चित्रकला लोप हुँदै गइरहेको छ।”
नारी विकास केन्द्र कुँवाले यस पहलको माध्यमबाट नयाँ पुस्तालाई भित्ते चित्रकला सम्बन्धी जानकारी दिने विश्वास व्यक्त गरेको छ। यस कदमले मिथिला चित्रकलाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ।
प्रतिक्रिया राख्नुहोस्