सामाजिक सञ्जालमा गलत सूचनाहरू बढी आउँदा वास्तविक सूचना ओझेलमा : प्रवक्ता डा.महत
रुपन्देही । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सामाजिक सञ्जालमा गलत सूचनाहरू बढी आएर वास्तविक सूचना ओझेलमा परेको बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा आएको मिथ्या कुराहरूले स्थापित दलहरूप्रति अनावश्यक आरोपहरू लाग्दै गएको बताउनुभयो ।
कांग्रेस रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय समितिले बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता डा.महतले सामाजिक सञ्जालमा मिथ्या कुराहरू आउने क्रम बढेकोले त्यसको नियमन जरुरी रहेको उल्लेख गर्नुभयो। युवाहरूले सामाजिक सञ्जालमा धेरै विश्वास गर्ने र सामाजिक सञ्जालले सत्यलाई झुट र झुटलाई सत्य जस्तो भ्रममा पार्ने उहाँको भनाई थियो ।
उहाँले सामाजिक सञ्जालले समाजमा नकारात्मक सोच हाबी भएको भन्दै त्यसलाई उल्टाएर सकारात्मक सोचको विकास गर्नुपर्ने धारणा राख्नुभयो।
प्रवक्ता डा.महतले अहिले मुलुकको लागि कांग्रेस बाहेक अरूको विकल्प नभएको उल्लेख गर्दै कांग्रेस छोडेर जानुपर्ने कुनै कारण नभएको जिकिर गर्नुभयो। सङ्गठनमा जहाँ समस्यामा छ, त्यहाँ केन्द्रित भएर समाधान खोज्नुपर्ने उहाँको भनाई थियो।
पूर्व मन्त्री समेत रहनुभएका प्रवक्ता डा.महतले समानुपातिक निर्वाचन प्रणाली रहिरहँदासम्म सत्ताका लागि गठबन्धन गरिनै रहनुपर्ने अवस्था रहेको भन्नुहूँदै यो निर्वाचन प्रणाली नबदल्दासम्म कुनै पनि दलले एकल बहुमत ल्याउन नसक्ने भएकाले त्यसलाई सुधार गर्न सकिन्छ कि भनेर नै संविधान संशोधनको सहमतिसहित काँग्रेस एमालेको सरकार बनाइएको बताउनुभयो।
नेता डा. महतले पार्टीले लिएका नीति कार्यक्रम कार्यान्वयन गर्नका लागि सत्तामा जानै पर्ने र सत्तामा जानका लागि अरू दलहरूसँग गठबन्धन गर्नैुपर्ने बाध्यताका कारण निर्वाचन प्रणाली नबदल्दासम्म गठबन्धन भई नै रहने बताउनुभयो ।
२०७४ को निर्वाचनमा पार्टीको आफ्नै चुनाव चिन्ह लिएर लड्दा पनि पार्टीभित्रकै घात अन्तर्घातले नराम्रो परिणाम भोग्नुपरेको स्मरण गर्दै उहाँले त्यही नियति भोग्नु नपरोस् भन्नको लागि २०७९ को निर्वाचनमा अरू दलहरूसँग गठबन्धन गरिएको त्यसले परिणाम पनि राम्रै दिएको बताउनुभयो ।
उहाँले काँग्रेसमाथि जनताको अपेक्षा पनि रहेको र अपेक्षा अनुसारका काम भएन भनेर असन्तुष्टि पनि रहेको बताउँदै अबका दिनमा जनताका अपेक्षा पुरा गर्ने गरी काम गर्ने दायित्वबाट चुक्न नहुने बताउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्