तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल कमर्स एसोसिएसनको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन वीरगञ्जमा सम्पन्न 

बीरगंज । नेपाल कमर्स एसोसिएसनको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन वीरगञ्जमा सम्पन्न भएको छ । 

नेपालका उद्योग र व्यवसायमा भएका सम्भावनाहरूलाई संस्थागत गर्दै तिनीहरूको अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलन वाणिज्य र व्यवस्थापन क्षेत्रमा ज्ञानको सञ्जाललाई विस्तार गर्नको लागि एक महत्त्वपूर्ण कदम मानिएको छ ।

वीरगञ्जको होटेल भिषुवामा बुधवारदेखि सुरु भएको सम्मेलनको भारतीय कमर्स एसोसिएसनका उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालय जाउनपुर युपीका प्रमुख प्रा. डा. मानस पाण्डेले उद्घाटन गर्नुभएको थियो । 

सम्मेलनका प्रमुख उद्देश्य वाणिज्य र व्यवस्थापन क्षेत्रमा अनुसन्धान, अध्ययन र सम्भावनाको अनुसन्धान गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासको मार्गचित्र तयार गर्नु रहेको नेपाल कमर्स एसोसिएसनका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रा. डा. मानस पाण्डेले वाणिज्य र व्यावसायिक क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको महत्त्वबारे आफ्नो विचार प्रस्तुत गर्दै वर्तमान अवस्थामा विश्वमा व्यापार र उद्योगका क्षेत्रहरू एक अर्कासँग सञ्जाल जडान गर्दै गएको बताउनुभयो । 

त्यस्तै राजर्षि जनक विश्वविद्यालयका डीन डा. विनोद साहले वाणिज्य क्षेत्रमा हुने अध्ययन र अनुसन्धानको महत्त्वलाई जोड सम्मेलनले नेपालका व्यावसायिक संस्थाहरू र शैक्षिक संस्थाहरूको बिचमा नयाँ विचार र अन्वेषणको बाटो खोल्ने बताउनुभयो ।  

सम्मेलनमा महेन्द्र बहुमुखी क्याम्पस धरानका अनुसन्धान समितिका प्रमुख प्रा. अशोक झा, नेपाल कमर्स क्याम्पसका सह–अध्यक्ष डा. सुरेन्द्र महतो लगायतका वक्ताहरूले अनुसन्धान र अनुसन्धानात्मक कार्यहरूको समर्थक गर्दै व्यवसाय र उद्योग क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्ने र तिनलाई समाधान गर्ने उपायहरू पहिचान गर्न अन्वेषण र अनुसन्धानको आवश्यकता रहेको औँल्याउनुभयो । 

कार्यक्रममा विभिन्न क्षेत्रका २१ वटा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । कार्यपत्रहरूमा व्यवसाय, वाणिज्य, वित्तीय व्यवस्थापन, बजार अध्ययन, र मानव संसाधनको क्षेत्रमा भएका विभिन्न महत्त्वपूर्ण विषयहरू उठान गरेको नेपाल कमर्स एसोसिएसनका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button