तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धिका लागि स्थायित्व जरुरी : मन्त्री भण्डारी

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राजनीतिक स्थायित्वले मात्रै विकास र समृद्धि सम्भव हुने बताउनुभएको छ ।

गृह जिल्ला बैतडीमा रहनुभएका मन्त्री भण्डारीले जिल्ला स्थित २ वटा नगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै छोटो समयमा सरकार बदलिने अवस्था नै विकासको बाधक बनेको बताउनुभयो ।

सरकारको नीति तथा कार्यक्रम र बजेट एक सरकारले ल्याउने र कार्यान्वयन गर्दा अर्कै सरकार हुने अवस्थाले विकास निर्माणका क्रियाकलाप अघि बढ्न नसकेको बताउनुभयो ।

उहाँले बैतडीको झुलाघाट स्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणका लागि भारत सरकारसँग निरन्तर छलफलमा रहेको बताउनुभयो ।

वर्तमान सरकारले विकासका बाधक रहेका ऐन, कानुनहरूलाई संशोधन गरिरहेको र अब यसले छिट्टै नतिजा दिने मन्त्री भण्डारीले बताउनुभयो ।

सोही कार्यक्रममा सहभागी सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पालले वडा नं २ को भौतिक विकासका लागि आफ्नो पहल रहिरहने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button