तपाईँ सुन्दै हुनुहुन्छः

उत्कृष्ट गैर सैनिक फोटो पत्रकार पुरस्कृत

काठमाडौँ । नेपाली सेनाले फोटो प्रतियोगितामा उत्कृष्ट तीनजना गैर सैनिक फोटो पत्रकारलाई पुरस्कृत गरेको छ । जङ्गी अड्डामा आजदेखि आयोजित ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ को शुभारम्भका क्रममा प्रधान सेनापति अशोकराज सिग्देलले उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कृत गर्नुभयो ।

गैर सैनिक फोटो पत्रकारतर्फ प्रवीन रानाभाट प्रथम, प्रतिमा राजभण्डारी द्वितीय र सरोज बैजु तृतीय तथा सैनिक फोटोग्राफरतर्फ प्राविधिक जमदार राजीव हेङ्गजु प्रथम हुनुभएको छ । सो अवसरमा सेनाकै युनिटहरूमध्येबाट प्रथम पूर्वी पृतना हेडक्वार्टर, द्वितीय विकास निर्माण निर्देशनालय र तृतीय भएका युद्ध कवच गण सम्मानित भए ।

सोही अवसरमा प्रधानसेनापति सिग्देलले फोटो प्रतियोगिताको मूल्याङ्कन समितिमा रहनुभएका राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्न श्रेष्ठ, फोटो पत्रकार वर्षा शाह र प्राविधिक सेनानी सुलभ श्रेष्ठ तथा इतिहास, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न तस्बिरको माध्यमबाट योगदान पुर्‍याउनुभएका सुनिल उलकलाई कदर पत्र प्रदान प्रदान गर्नुभयो ।

सेनाले तस्बिरको माध्यमबाट इतिहास, कला, संस्कृति र परम्पराको जगेर्ना गर्न सैनिक तथा गैर सैनिक व्यक्तिको विशेष योगदानलाई कदर गर्दै फोटो प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button