तपाईँ सुन्दै हुनुहुन्छः

कानून बनाउँदा तीनै तहका सरकारबीच समन्वय हुनु आवश्यक : मन्त्री लेखी

सप्तरी । मधेश प्रदेशका गृह, सञ्चार  तथा कानुन मन्त्री राजकुमार लेखीले कानुन बनाउँदा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच समन्वय हुनु जरुरी रहेको बताउनु भयो ।

आइतबार सप्तरीको राजविराजमा मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आयोजनामा गरिएको दुई दिने स्थानीय तहको कानुन तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लेखीले सो कुरा बताउनुभएको हो ।

समय अनुकूल मुलुकमा आएको राजनीतिक परिवर्तन अनुसार तीनै तहको सरकारको व्यवस्था गरिएको बताउँदै उहाँले एक तहले बनाउने कानुन अर्को तहसँग बाझ्‌ने अवस्था नआओस् भन्नका लागी पनि समन्वय आवश्यक रहेको बताउनुभयो ।

सङ्घीयताको सफल कार्यान्वयनका लागी स्थानीय तह समेत सबल हुनु पर्ने भन्दै उनले यही उद्देश्यका लागी धनुषाबाट  सुरु गरी दोस्रो चरणमा यो कार्यक्रम सप्तरीमा सञ्चालन गरिएको जानकारी दिनुभयो । मन्त्री लेखीले मधेश प्रदेश सरकारले हाल सम्म ६४ वटा कानुन निर्माण गरिसकेको जानकारी दिँदै स्थानीय तहले कानुन बनाउँदा प्रदेशसँग समेत नबाझ्‌ने गरी बनाउन आग्रह गर्नुभयो । 

“हामीहरुले समावेशी राज्यको कुरा गर्छौं, राज्यका हरेक निकाय समावेशी हुनु पर्छ भन्छौ, मन्त्री लेखीले भन्नुभयो—“तर राज्य र सरकारमा जाने दलहरू आफैले समावेशी चरित्र र स्वरूप देखाउन सकेका छन् की छैनन् ? यता तर्फ पनि समीक्षा हुनु जरुरी छ ।”

मन्त्रालयका उप सचिव गणेश नायकले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेका थिए । दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा जिल्लाका १८ वटै पालिका उप-प्रमुख र उपाध्यक्ष, पालिकाको न्यायिक समितिका सदस्य, कानुन व्यवसायी लगायतको सहभागिता रहेको थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button