गुल्मीमा अपराधका घटना वृद्धि
गुल्मी । गुल्मीमा पछिल्लो समय अपराधका घटना वृद्धि हुँदै जान थालेका छन् ।
मदिरा सेवनकै कारण हत्या, बलात्कार जस्ता जघन्य अपराध घटेको प्रहरी अनुसन्धानले देखाएको छ । अपराध घटाउनेमा आफन्त र छिमेकी नै रहेका छन् । अघिल्लो वर्ष एउटा मात्रै कर्तव्य ज्यान मुद्दा दर्ता भए पनि यो वर्षको ६ महिनामै तीन वटा मुद्दा दर्ता भइसकेका छन् ।
गुल्मीको मालिका गाउँपालिका–८ कालीमाटीका ६० वर्षीय लालबहादुर घर्तीको माघ ८ गते आफ्नै घर मुनि ढुङ्गाले पुरेको अवस्थामा शव फेला पर्यो । टाउकोमा गम्भीर चोट लागेर रक्तामे फेला परेको शवको हत्या गरेको जिम्मा उनकै कान्छा छोरा २९ वर्षीय डमरबहादुर घर्तीले लिए । उनले प्रहरी र जनप्रतिनिधिसमक्ष हत्या गरेको स्वीकार गरे । यद्यपि घटना अनुसन्धानमै छ ।
त्यस्तै, मङ्सिर ३० गते इस्मा गाउँपालिका–४ दोहलीकी ५० वर्षीया मिना दर्लामीको हत्या आरोपमा छिमेकी ४८ वर्षीय मिन बहादुर आछमी पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
त्यसैगरी, मुसिकोट नगरपालिका–६ का ३४ वर्षीय किरण मगर असोज ६ गते स्थानीयको कुटपिटबाट घाइते भए र असोज २७ गते उपचारको क्रममा पाल्पामा मृत्यु भयो । घटनामा संलग्न एक महिला, नाबालक र तीन जना अन्य गरी पाँच जना कारागार चलान भएका छन् । अपराध घटाउनेमा आफन्त र छिमेकी नै रहेका छन् ।
अघिल्लो वर्ष एउटा मात्रै कर्तव्य ज्यान मुद्दा दर्ता भए पनि यो वर्षको ६ महिनामै तिन वटा मुद्दा दर्ता भइसकेका छन् । घटना घट्नुमा मदिरा नै प्रमुख कारण रहेको प्रहरी अनुसन्धानले देखाएको छ भने स्थानीय नागरिकले समेत भन्न थालेका छन् । मदिरा र आवश्यक जनचेतनाको अभावमा जिल्लामा अपराधका घटना बढिरहेको स्थानीय वीरबहादुर सुनार बताउनुहुन्छ ।
त्यस्तै, जबरजस्तीका घटनाको अवस्था समेत भयावह देखिन्छ । त्यसमा पनि बालबालिका धेरै शिकार बनेका छन् । अघिल्लो आर्थिक वर्षमा ७ वटा मुद्दा दर्ता भएकोमा यो वर्ष अहिलेसम्म १० वटा मुद्दा दर्ता भएका छन् भने ७ जना नाबालिका परेका छन् । घटनामा संलग्न १० जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । अपराध नियन्त्रणको लागि सबैको सहयोग चाहिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजन भुजेलले बताउनुभयो ।
पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा जनचेतनाको कमी, राज्यको स्रोत र साधनको कमी, कानुनी साक्षरता र मदिराका कारण जिल्लामा अपराधका घटना बढेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताउनुभयो ।
जिल्लामा हुने अपराधका घटना नियन्त्रणको लागि सुरक्षा निकाय तथा स्थानीय सरकार थप जिम्मेवार बन्न आवश्यक रहेको नागरिक समाज गुल्मीका अध्यक्ष पाण्डेले भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्