तपाईँ सुन्दै हुनुहुन्छः

हालसम्म १९ लाख ७१ हजार किसान परिवार सूचीकरण प्रणालीमा सूचिकृत 

ललितपुर । मुलुकभरका किसान परिवारमध्ये हालसम्म करिब ४७.७ प्रतिशत किसान सूचीकरण प्रणालीमा सूचिकृत भएको कृषि तथा पशुपन्छी मन्त्रालय अन्त्रगतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले  जनाएको  छ  ।  

केन्द्रले  आज ललितपुरमा आयोजना गरेको  प्रदेश स्तरीय किसान सूचीकरण सम्बन्धी समन्वय गोष्ठीमा केन्द्रका प्रमुख एवं सहसचिव  डा. राम नन्दन तिवारीले गत मङ्सिर २१ गतेको सचिव स्तरीय निर्णय अनुसार केन्द्रलाई किसान सूचीकरणका लागि किसानहरूको आवश्यक विवरणहरू सङ्कलन गरी विद्युतीय प्रणाली व्यवस्थापन तथा सञ्चालन गर्न केन्द्रलाई जिम्मेवारी प्राप्त भएको बताउनुभयो ।   

किसानको  पहिचान गरी सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्न र किसानहरूलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तीनै तहको साझेदारीमा यसलाई अघि बढाइएको पनि केन्द्रका प्रमुख तिवारीले  जानकारी दिनुभयो । 

केन्द्रले माघ २ गते सम्म  करिब १९ लाख ७१ हजार किसान परिवार सूचीकरण प्रणालीमा सूचिकृत भएको  जनाएको  छ  । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार ४१ लाख ३० हजार किसान घरधुरी रहेका छन्  । यसलाई आधार मान्दा पनि अझै आधा  भन्दा बढी किसान परिवार सरकारी सूचीकरण प्रणालीमा सूचीकृत हुन बाँकी छन् । हाल स्थानीय तह मार्फत अनलाइन प्रणालीमा किसानहरूको  विवरण सङ्कलनको  कार्य भइरहेको  केन्द्रले  जनाएको छ । 

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा ४७ ले दिएको अधिकार प्रयोग गरी किसानको पहिचान किसान सूचीकरण कार्यक्रम सञ्चालन हुँदै आएको  छ । किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ को दफा ६ बमोजिम किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालनको लागि  केन्द्रलाई  जिम्मेवार निकायको रूपमा तोकिएको मन्त्रालयले  जनाएको  छ  । 

किसानलाई पहिचान गरी प्रणाली मार्फत वर्गीकरण गरिने तथा कृषक परिचयपत्रलाई यथासक्य राष्ट्रिय परिचय पत्र र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट कृषकहरूका लागि बनाइएका अन्य सफ्टवेयरसँग पनि आवद्ध गर्दै जाने योजना रहेको सहसचिव  एवं केन्द्रका प्रमुख डा. तिवारीले  बताउनुभयो ।  

उहाँले यससँगै कृषि बीमा, कृषि ऋण, रासायनिक मल, बीउ, अनुदान लगायत किसानलाई प्रवाह गरिने सेवा सुविधासँग आवद्ध गर्दै लैजान पर्ने भएकोले किसान सूचीकरणलाई आबद्धता गर्ने विषयमा छलफल तथा अन्तरक्रियाहरू गरिएको पनि बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button