तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई सार्थक बनाउने मुख्यमन्त्री कार्कीकाे दाबी

सुनसरी । कोशी प्रदेश सरकारले अगामी वर्ष कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा गर्दै यसलाई सार्थक पार्ने कार्य सुरु भएको मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । 

सुनसरीको कोशी टप्पु वन्य जन्तु आरक्षमा आज बिहीबार पर्यटन वर्ष तयारी स्वरूप बसेको बैठकमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई सार्थक पार्नका लागि कामको थालनी भएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले पर्यटन वर्षको प्रचारप्रसारदेखि पर्यटकको गन्तव्यहरूको बारेमा चर्चा परिचर्चा र बैठक छलफल गर्ने क्रममा पहिलो बैठक गरेको बताउनुभयो । 

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को मुख्य आयोजक समितिको मुख्य आयोजना र मुख्यमन्त्री कार्कीको अध्यक्षतामा भएको समितिको पहिलो बैठकले आन्तरिक एवम् स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ कोशी प्रदेश पर्यटन वर्ष २०८२  को तयारीमा जुट्ने निर्णय गरेको छ । 

कोशी प्रदेश सरकारले घोषणा गरेको “कोशी प्रदेश पर्यटन वर्ष २०८२” लाई  सार्थक र प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि पहिलो बैठक बसेको कार्कीले बताउनुभयो ।

कोशी प्रदेश वन तथा वातावरण मन्त्री सदानन्द मण्डलका अनुसार कोशी प्रदेशको प्राकृतिक र सांस्कृतिक सम्पदालाई विश्वभर परिचित गराउँदै प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिइनेछ । 

बैठकमा प्रदेश सरकारका मन्त्री सदानन्द मण्डल, एकराज कार्की, भुपेन्द राई, , सभामुख अम्बर बहादुर विष्ट,उपसभामुख सिर्जना दनुवार सहित उच्च पदाधिकारी, सरोकारवालाहरू, र पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैठकले पर्यटन प्रवद्र्धनका लागि “कोशी प्रदेश पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१” अन्तर्गत दिगो योजना निर्माण गर्ने निर्णय गरेको छ ।

उहाँले पर्यटन वर्षले कोशी प्रदेशमा पर्यटनको अवसर र सम्भावनाको पहिचान गर्दै, यसलाई दिगो विकाससँग जोड्ने प्रयास गरेको बताउनुभयो । बैठकले आगामी वर्षभर सञ्चालन गरिने विविध कार्यक्रमहरूको खाका समेत तयार गरेको जनाएको छ ।

प्रदेशको पर्यटन क्षेत्रको कार्य जिम्मेवारी बोकेको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसम्बन्धी कानून, मापदण्ड र योजना निर्माण, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र नियमन, पर्यटक प्रहरी व्यवस्थापन, पर्यटकीय सेवा क्षेत्रको नवीकरण लगायतका कार्यहरू गर्दै आइरहेको छ । 

मन्त्रालय मातहत पर्यटन विकास आयोजना, पर्यटन कार्यालय धरान र काँकडभिट्टाका कार्यालयहरूले प्रदेशका चौध जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गरिरहेका छन् । २०८१ जेठदेखि स्विस सरकारसँगको साझेदारीमा तीनै तहका सरकारहरू संलग्न भई ४ वटा पदमार्गहरू केन्द्रित गरी पदमार्गमा आधारित पर्यटन विकास आयोजना पनि सञ्चालनमा छ ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक, भौगोलिक एवम् जैविक विविधतायुक्त कोशी प्रदेशको अवस्थितिले यस प्रदेशलाई भारतीय पर्यटकहरूको निकट तथा सम्भावनायुक्त प्रदेशको रुपमा स्थापित गर्ने जनाएको छ । पछिल्लो दशक यता आन्तरिक पर्यटनको पनि प्रशस्त विकास भइरहेको छ । यस परिप्रेक्षमा आन्तरिक तथा भारतीय पर्यटकहरूलाई अधिकाधिक आकर्षित गर्दै पर्यटन क्षेत्रलाई राष्ट्रिय पुँजी निर्माणको आधारको रुपमा विकास गर्ने लक्ष्य लिई सरकारले यस कार्यक्रमलाई अघि सारेको छ । पर्यटन वर्षको कार्यक्रम अन्तरगत संघीय, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रको सहकार्यमा विविध क्रियाकलापहरू सञ्चालन गरिने छन् । 

यसका लागि प्रदेश सरकारबाट “कोशी प्रदेश पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ स्वीकृत गरी मूल आयोजक समिति, निर्देशक समिति, कार्यक्रम व्यवस्थापन समिति गठन तथा सचिवालय स्थापना गरिएको छ ।

कोशी प्रदेश सरकारले पर्यटन वर्षलाई सफल बनाउन १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेशमा पर्यटनको प्रशस्त सम्भावना रहेको र सयौँ आकर्षक गन्तव्यहरूले पर्यटक पर्खिरहेको भन्दै सरकारले ती पर्यटकीय गन्तव्यहरूको पूर्वाधारसँगै निजी क्षेत्रको क्षमता विकासमा सहयोग गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button