मन्त्री यादव र एडिबीका निर्देशक कोस्वाबीच खानेपानी आयोजना कार्यान्वयन सम्बन्धि छलफल
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव तथा एसियाली विकास बैङ्क (एडिबी) का नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाबीच आज इन्टिग्रेटर खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारी सम्बन्धि छलफल भएको छ ।
मन्त्रालयमा आयोजना गरिएको उक्त छलफल सहितको बैठकमा मन्त्री यादव सहित मन्त्रालयको टोली तथा एडिबीको टोलीबीच एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नेपालमा सञ्चालन हुने एकीकृत खानेपानी तथा सरसफाई आयोजनाको कार्यान्वयन मोडालिटी लगायतका ईन्टिग्रेटर खानेपानी आयोजनाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
उक्त बैठकमा सुधारिएको शहरी खानेपानीको मोडल तथा सुधारिएको क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) मोडल गरी अघि बढ्ने दुई वटा तरिकाका विषयमा छलफल गरिएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडिले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त परियोजनाका विषयमा विगत दुई वर्षदेखि विषय उठान गरिएको भएपनि आज मन्त्री यादवको पहलमा मन्त्रालयका पदाधिकारी एवम् एडिबीका प्रतिनिधीबीच छलफल सुरु भएको हो ।
सोही छलफलका क्रममा मन्त्री यादवले एडिबीको ऋण सहयोगमा नेपालमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा जीवनशैली परिवर्तन गर्ने क्षेत्रमा ठूला परियोजनाहरू सञ्चालन भइरहेकाले एडिबीको काम एवम् परियोजना प्रति नेपाली नागरिक पूर्ण रुपमा सन्तुष्ट रहेका जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एडिबीको लक्ष र परियोजना प्रति नागरिक खुशी छन्, एडिबीको लगानी सफल रहोस् । एडिबीले खानेपानीको क्षेत्रमा गर्दै आएको काम चाँडो सम्पन्न होस् भन्ने मन्त्रालयको लक्ष अनि उद्देश्य रहेको छ ।” सोही छलफलका क्रममा मन्त्री यादवले एडिबीको निर्णयको आफु पूर्ण रुपमा सहमत रहेको र आरयुडिबी मोडेलमा जानेहो भने मन्त्रालय जान तयार रहेको तर कुन तरिकाले जाने त्यो विषयमा आवश्यक छलफल गर्नु पर्ने धारणा राख्नुभएको थियो ।
यसैगरी एसियाली विकास बैङ्क (एडिबी) का नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाले एडिबीको ऋण सहयोगमा नेपालमा विगतदेखि खानेपानी लगायतका विभिन्न क्षेत्रमा ठूला परियोजनाहरू सञ्चालन भइरहेका तथा एडिबीले सञ्चालन गरेका परियोजनाहरू समयमै सम्पन्न भई नागरिकले स्वच्छ अनि शुद्ध खानेपानी पाउन भन्ने हाम्रो उद्देश्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एडिबीले नेपालका धेरै ठाउँमा ठूला परियोजनामा काम गर्दै आएको छ । खानेपानीका क्षेत्रमा नयाँ परियोजना लागु हुने तयारीमा छन् । हामी चाहन्छौँ, नयाँ परियोजनाको काम चाँडो सुरुवात होस ।”
उक्त छलफलमा खानेपानी मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, सहसचिव रमाकान्त दुवाडी तथा एसियाली विकास बैङ्क (एडिबी) का नेपाल प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्