चौदण्डीगढी मेयरकपः उद्घाटन खेलमा वडा नम्बर ३ विजयी
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा छैटौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता सोमबार बाट सुरु भएको छ । उद्घाटन खेलमा वडा नम्बर ९ लाई पराजित गर्दै वडा नम्बर ३ विजयी भएको छ ।
नगरको वडा नम्बर ६ स्थित कालिका मा.वि.को खेल मैदानमा भएको खेलमा वडा नम्बर ९ लाई टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै वडा नम्बर ३ विजयी भएको हो । निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।
खेलको तेस्रो मिनेटमा वडा नम्बर ९ जर्सी नम्बर १४ का सुशन पौडेल ले सुरुवाती गोल गरेका थिए । वडा नम्बर ३ जर्सी नम्बर ३१ का नितन राई ले १६औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको पहिलो हाफमा एक एक गोलको बराबरीमा सकिएको थियो भने खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा वडा नम्बर ९ ले ३ गोल गर्दा वडा नम्बर ३ ले ४ गोल गरेको थियो । आजको खेलमा म्यान अफ दी म्याच वडा नम्बर ३ का गोल रक्षक किरण राई भएका थिए ।
उद्घाटन चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले पानसमा बत्ती गर्नु भएको थियो । वहाँले चौदण्डीगढी नगरपालिकाले खेल र खेलाडीको स्तर वृद्धिका लागि सधैँ तत्पर रहेको समेत बताउनु भयो। उद्घाटन समारोहमा वडा नम्बर ६ का अध्यक्ष अम्बरबहादुर खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यस वर्षबाट नगर खेलकुद विकास समितिले प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने खेलाडीहरूको छनोट गरी दशौं संस्करणको नारदमुनी गोल्डकप फुटबल प्रतियोगितामा बसाहा क्लबका तर्फबाट खेल खेलाउने अवसर प्रदान गराउने गरि प्रतियोगिताको सुरुवात गरिएको छ। नारदमुनी गोल्डकप उदयपुर जिल्लाकै प्रतिष्ठित गोल्डकप हो । यस वर्षको दशौं संस्करणको नारदमुनी गोल्डकप यही माघ १५ गतेबाट सञ्चालन हुँदैछ ।
प्रतिक्रिया राख्नुहोस्