आलु बेचेर मनग्य आम्दानी गर्दै जुम्लाका महिला
जुम्ला । पातारासी गाउँपालिका वडा नं.७ रिनी गाउँकी ललिता खड्का पुस/माघको कठ्याग्रिदो चिसाको प्रवाह नगरी एकाबिहानै आलुको भारी बोकेर बजार तिर लाग्नुहुन्छ । गाउँबाट करिब ३ घण्टाको पैदल यात्रापछि बजार पुगेर बजारका कुना कुना, चोक चोक र होटल होटल चाहर्दै आलु विक्री गर्नुहुन्छ ।
आलु बेचेरै ललिता आर्थिक रुपमा आत्मनिर्भर बन्नुभएको छ । दैनिक ४० देखि ४५ किलो आलु बजारमा विक्री गरेर १५ सयदेखि २ हजार सम्म कमाएर घर फर्किनु हुन्छ । गाउँमा सङ्कलन केन्द्र नहुँदा बोकेर बजार ल्याउनु बाध्यता छ । ललिता भन्नुहुन्छ,‘आलु हाम्रो परिवार चलाउने मुख्य माध्यम हो । छोराछोरीको कापी कलमदेखि नुन तेल लुगा फाटो गर्ने मुख्य स्रोत नै आलु विक्री हो । तर उपयुक्त मूल्य नपाउने समस्याले गर्दा घाटा खानु पर्छ ।’
त्यस्तै पातारासी ७ रिनी गाउँकै बेलमाया बोहोरा पनि सधैँ झिसमिसे बिहानीमै आलुको भारी बोकेर बजार ल्याएर विक्री गर्नुहुन्छ । पसल पसल, तरकारी मण्डीहरुमा पुगेर आलु विक्री गरेको रुपैयाँ पाएपछि घरमा चाहिने आवश्यक खाद्यान्न किनेर लिने गरेको बेलमायाले बताउनुभयो ।
घरको सानोतिनो खर्चका लागि श्रीमानकै मुख ताक्नु पर्ने बाध्यता छैन । उनी भन्छन्,‘आलु बेचेरै महिनामा १५ देखी २० हजार आम्दानी हुन्छ । विगतमा ५० देखि ६० हजार सम्म आलु बेचेर कमाएको थिए । यसपाली पर्याप्त पानी नपर्दा आलु फलेन । त्यसैले आम्दानी पनि घटेको छ । विक्रीका लागि आलु बजार ल्याएपछि केहीले भनेजस्तो मूल्य नपाएर २०/२५ रुपैयाँ प्रति केजी बेच्यौ । थोरै धेरै भएपनि रित्तो फर्किँदैनौ ।’
रिनी गाउँकी ललिता र बेलमाया जस्तै पातारासी गाउँपालिकाका धेरै महिलाहरू आलु लगायतका कृषि उपज विक्री गरेर आत्मनिर्भर बनेका छन् । पातारासी जुम्लाको अन्न भण्डार हो । जहाँ आलु, मकै, कोदो, सिमि, फापर, जौ, गौलगायतका कृषि उपज मनग्य रुपमा उत्पादन हुन्छ । तर सङ्कलन केन्द्र तथा प्रशोधन र बजारको अभावले उपयुक्त मूल्य पाउन सकेको छैनन् । जसका कारण ३/४ घण्टाको पैदल हिँडेर आलु बेच्न बजार आउन बाध्य छन् ।
दैनिक बजारमा आलु बेच्न आउने रिनी गाउँकी ललिता खड्काले ३० बोरा, ससिला खड्काले ३५ बोरा, बेलमाया बोहोराको घरमा २५ बोरा आलु उत्पादन भएको छ । दैनिक रिनी गाउँबाट मात्रै ५ देखी ७ क्वीईन्टल सम्म आलु विक्री हुने गरेको छ ।
कहिले रुपैयाँ विक्री नहुँदा तेल, चामल, धान, लगायतका खाद्यान्न बालीसँग समेत आलु साट्ने गरेको ससिला खड्काले बताउनुभयो । बिहान बजारमा आलु ल्याउन अघिल्लो साँझनै खाडलबाट निकालेर बोरामा हाल्छौ ।
उहाँले भन्नुभयो,‘जागिर छैन । कमाउने अन्य कुनै आयस्रोत छैन । कृषि हाम्रो मुख्य कमाउने आधार हो । त्यसमा पनि आलुको आम्दानीले घर खर्च चल्छ । छोराछोरीको पढाई लेखामा राहत पुगेको छ । आलु विक्रीबाट मात्रै वार्षिक ६० हजार सम्म आम्दानी हुने गरेको छ ।’
सहज बजारीकरण र कृषि उत्पादनको मूल्य निर्धारण नहुँदा हामीलाई बजारमा भौँतारिनु परेको पातारासीका महिलाको गुनासो छ । गाउँपालिकाले सकेसम्म पालिकामै सङ्कलन केन्द्र स्थापना गरी किसानको उत्पादन किनी दिनु पर्ने त्यति नभए पनि बजार सम्म आलु ढुवानीको व्यवस्थापन गरिदिन समेत महिलाको माग छ ।
साना तिना खर्चका लागि पनि श्रीमानकै मुख ताक्नु पर्ने परिस्थितिलाई बदल्दै पातारासीका महिलाले आलु बेचेर आत्मनिर्भर सन्देश दिएको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले बताउनुभयो । उहाँले भन्नुभयो,‘दैनिक बिहानीपख मर्निङ वाकमा जाँदा लस्करै लागेर आलुको भारी बोकेका महिला बजार भित्रिएका हुन्छन् । चिसोको प्रवाह नगरी उत्पादनको बजारीकरणमा जुटेका महिलाको सङ्घर्ष प्रेरणादायी छ ।’
स्थानीय तह र कृषि विकास कार्यालयले समन्वय गरी पातारासीको आवश्यकता मध्यनजर गर्दै गाउँ गाउँमा सङ्कलन केन्द्र निर्माणमा लगानी गर्नु पर्नेमा अध्यक्ष चौलागाईले जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्