तपाईँ सुन्दै हुनुहुन्छः

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी

ललितपुर । विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनःनिर्माण भइसकेको छ भने दुई संरचना पुनः निर्माण हुन बाँकी छ । उक्त सम्पदा पुनःनिर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । 

राणाकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनःनिर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “भारत सरकारको सहयोगमा पुनःनिर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनःनिर्माण अघि बढेको छ ।” 

करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मन्दिरको पुनःनिर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ । 

भूकम्पले क्षति पुर्‍याएका केही संरचना पुनःनिर्माण भई उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरूको सामान्य मर्मत गरिएको पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो । उहाँका अनुसार पाटन दरबारको सबैभन्दा ठूलो मन्दिरको रुपमा चिनिने देगुतलेजु मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । 

 विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भएपनि आर्थिक अभावका कारण पुनः निर्माण सम्पन्न हुनसकेको छैन । विभिन्न दाताहरूको सहयोगबाट पुनःनिर्माण  सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button