पातले छाँगो प्रवेशद्वारमा महानगरले लगायो ताला
कास्की । पोखराको पर्यटकीय स्थल पातले छाँगो (डेभिड फल्स) मा पोखरा महानगरपालिकाले ताला लगाएको छ । महानगरपालिकाले माघ १ गतेदेखि पातले छाँगोको सम्पूर्ण सञ्चालन र व्यवस्थापन महानगरपालिकाको नियन्त्रणमा लिएको छ ।
आफैले छाँगो सञ्चालन गर्ने गरी महानगरको टोली पुग्दा मंगलबार स्थानीयले अवरोध गरेका थिए । त्यसँगै पातले छाँगोको प्रवेश द्वार महानगरपालिकाले सिलबन्दी गरेको छ ।महालेखापरीक्षकको कार्यालयले राजस्व संकलन सम्बन्धी सम्पूर्ण कार्य महानगरपालिकाले गर्नुपर्ने निर्देशनात्मक आदेश दिएपछि छाँगो महानगर आफैले सञ्चालन गर्न लागेको हो ।
तर छाँगो २०३४ सालदेखि छोरेपाटन माविले व्यवस्थापन र सञ्चालन गर्दै आइरहेको छ । महानरपालिकाले विभिन्न संरचना निर्माणसमेत गर्ने गरी निजी कम्पनीलाई भाडामा दिने सम्झौता गरेको हुँदा विद्यालय सञ्चालनको आम्दानी टुट्ने भन्दै स्थानीयले विरोध गरेका छन् ।
महानगरपालिकाले पातले छाँगोको सञ्चालन र व्यवस्थापनमा कुनै अवरोध नगर्न सबैलाई अनुरोध गर्दै, राजस्व संकलन र संरचनागत व्यवस्थापनमा थप सुधार गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्