बैजनाथ गाउँपालिका: पालिका गान र लोगो लागू गर्ने बाँकेको पहिलो पालिका
बाँके । बाँकेको बैजनाथ गाउँपालिकाले पालिका गान र लोगो प्रचलनमा ल्याउँदै इतिहास रचेको छ। योसँगै बैजनाथ बाँकेको आठवटा स्थानीय तहमध्ये आफ्नै पालिका गान र लोगो लागू गर्ने पहिलो पालिका बनेको छ।
गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक पहिचान झल्काउने पालिका गान र लोगो सार्वजनिक गर्यो। गानमा आचार्य दामोदर उपाध्यायका शब्द र विनोद विश्वकर्माको लयमा गायक प्रताप दास र गायिका सपना शाहीले स्वर दिएका छन्।
यस्तै, महेश अधिकारीद्वारा निर्मित लोगोले पालिकाको सांस्कृतिक र भौगोलिक विशेषता प्रस्तुत गरेको छ। गाउँ कार्यपालिकाको गत साउन ४ गते बसेको बैठकले पालिका गान र लोगो बनाउने निर्णय गरेपछि प्रतिस्पर्धात्मक प्रस्ताव आह्वान गरियो। गानका लागि ९ र लोगोका लागि ४ प्रस्ताव परेका थिए।
उत्कृष्ट छनोट गर्न पालिकाले विज्ञहरुको टोली परिचालन गर्यो। पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार गान र लोगो बनाउने व्यक्तिहरूलाई १७औँ गाउँ सभा अधिवेशनमा सम्मान गरिएको छ। गान रचनाकार उपाध्याय कोहलपुरका निवासी हुन् भने लोगो डिजाइनकर्ता अधिकारी बाँसगढीका स्थायी बासिन्दा हुनुहुन्छ , जो हाल बैजनाथमै बसोबास गर्दै आइरहनु भएको छ।अब बैजनाथ गाउँपालिकाका सबै सार्वजनिक कार्यक्रम, सभा, समारोह र विद्यालयमा राष्ट्रिय गानपछि पालिका गान गाइनेछ।
यसले पालिकाको सांस्कृतिक, ऐतिहासिक र भौगोलिक पहिचानलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।पालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गान र लोगो तयार गर्न प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइएको बताउनुभयो। साथै, लोगो डिजाइनकर्ता र गान रचनाकारलाई प्रमाणपत्र, दोसल्ला, र नगद पुरस्कारसहित सम्मान गरिएको जानकारी दिनुभयो।
यस्तो छ बैजनाथको पालिका गान
सुगन्ध भई फैलिएको पेडारीको माटो
देखाउनलाई हामीलाई उन्नतिको बाटो ।
मानखोला हो मेरुदण्ड चिसापानी शिर
अति राम्रो नौबस्ता र गाभर भ्यालीतिर ।
थरथरी जाति, धर्म एकतामा फुल्छन्
हासि खुसी रमाउन पर्यटक डुल्छन् ।
समृद्धिले सजाएर झुकाउँछौँ माथ
हाम्रो प्यारो गाउँपालिका जय बैजनाथ ।
प्रतिक्रिया राख्नुहोस्