पिएसबीमा सरकारको हस्तक्षेप नहुने: मन्त्री गुरुङ
लोकतन्त्रको पहिलो बिगुल फुक्ने काम रेडियो नेपालले गरेको मन्त्री गुरुङकाे भनाई

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले लोकतन्त्रको पहिलो बिगुल फुक्ने काम पिएसबी अन्तर्गतको रेडियो नेपालले गरेको बताउनुभएको छ ।
पिएसबीको पुर्वारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले पिएसबीमा सरकारको हस्तक्षेप नहुने र मन्त्रालयले कुनै पूर्वाग्रह नराख्ने भन्नुहुँदै पिएसबी स्वायत्त र स्वतन्त्र रहेको प्रष्ट पार्नुभयो । अब पिएसबीले गुणको आधारमा सूचना प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभूत गर्ने, समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पिएसबीले सहभागितामूलक, समानता र समावेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।मन्त्री सुब्बाले पिएसबीले विविधताभित्र एकता कायम गर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न आग्रह गर्नुभयो ।

उहाँले अरू मिडियाले झैँ नाफा कमाउने नभै पिएसबीले सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै यो संस्था समाज, जनता र देशप्रति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले अरू मुलुकको नक्कल नगरी हाम्रो मुलुकको आफ्नै विशेषतामा आधारित भएर पिएसबीलाई रूपान्तरण गरि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको दूर दराजका जनताको आवाज पिएसबीले बोल्नुपर्ने र सुशासनका लागि राज्य र सरकारलाई झकझक्याउनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्