नेपालबाट हुने कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि
भारत र चीनतर्फको निर्यात २३.७ प्रतिशत र ६८.९ प्रतिशतले वृद्धि
काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भई ७३ अर्ब ६६ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ भएको नेपालको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ ।
नेपाल राष्ट्र बैकले शुक्रवार जारी गरेको नेपालको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, ऊनको गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको देखाएको छ ।
आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा कुल वस्तु आयात ३.० प्रतिशतले वृद्धि भई ६६१ अर्ब ४९ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.४ प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः ४.० प्रतिशत र ४.६ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा १.८ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, कच्चा भटमास तेल, स्पन्ज आइरन, लसुन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, केराउ, अलकत्रा लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
आयाततर्फ भैरहवा, विराटनगर, वीरगंज, जलेश्वर, कैलाली,कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
पाँच महिनामा कुल वस्तु व्यापार घाटा १.५ प्रतिशतले वृद्धि भई ५८७ अर्ब ८३ करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.१ प्रतिशतले कमी आएको थियो ।
समीक्षा अवधिमा निर्यात– आयात अनुपात ११.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ७२ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्