तपाईँ सुन्दै हुनुहुन्छः

शीतलहरले जनजीवन प्रभावित

जलेश्वर। विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतवर्षा हुन थालेपछि महोत्तरीसहित सम्पूर्ण तराई मधेस कठ्याङ्ग्रिएको छ ।

चौबीस घण्टा शीतको थोपाको वर्षा र लगातारको पश्चिमी चिसो वायुले तराईका जिल्लामा अहिले दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जन जीवन निक्कै प्रभावित भएको जलेश्वर नगरपालिका–९ बस्ने कामेन्द्र कापरले बताउनुभयो ।

निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशुपन्छी तथा बालीनाली प्रभावित बन्न थालेको जलेश्वर– ७ का किसान वीरेन्द्र शर्माले बताउनुभयो ।

चिसोकै कारण अहिले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोको कारण यातयातका साधन चढ्न छोडेका छन् ।

यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेको र बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–१ का चिया पसले उमेश साहले बताउनुभयो ।

उहाँले आफू पसल बन्द गर्न खोज्दा पनि ग्राहकले बन्द गर्न नदिने र बिहान ३÷४ बजे नै आएर पसल खोल्न तथा राति अबेरसम्म चिया पसलमै बस्न आग्रह गर्ने गरेको बताउनुभयो । चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रहरुलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेको चिकित्सक वीरेन्द्र चौधरीले बताउनुभयो ।

चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखा, खोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको स्वास्थ्यकर्मी साहले बताउनुहुन्छ । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर घुर तापिरहेकोे देखिन्छ ।

यसैबीच जाडोकै कारण ग्रामीण भेगमा बस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसान पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोमा चिन्तित भएको जलेश्वर–१० का किसान शहदेव मण्डलले बताउनुभयो ।

उहाँले मसुरो, खेसारी, आलस, रहरलगायतका दलहन र तेलहन बाली र काउली, गोलभेडा, मटरलगायतका तरकारी बाली प्रत्यक्षरुपमा चिसोबाट प्रभावित भएको बताउनुभयो ।

जिल्लामा जाडो बढेर जिल्लावासीले कष्टकर जीवन बिताइरहँदा पनि स्थानिय कुनै पनि पालिका वा सरोकारवाला निकायद्वारा हालसम्म कुनै पनि पालिकामा जाडोबाट बच्न÷बचाउनका लागि कुनै पनि व्यवस्था नमिलाएको अधिकांश पालिकाका स्थानीयको गुनासो रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button