एमाले केन्द्रिय कमिटी बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी
काठमाडौँ । नेकपा एमाले केन्द्रिय कमिटीको आजको बैठकमा केन्द्रिय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।
ललितपुरको च्यासल स्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको पार्टीका केन्द्रिय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
बैठकमा प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने सदस्यहरुले पार्टीलाई आधारभूत तहमै बलियो बनाउन, जनतासँगको सम्बन्ध सुदृढ बनाउन वैचारिक तथा सांगठानिक अभियानलाई निरन्तर वडा केन्द्रित बनाउनुपर्ने धारणा राख्नुभएको छ ।
यस्तै पार्टीलाई सबलीकरण गर्दै एकबद्ध बनाएर अघि लैजानका लागि पालिका, जिल्लाको जिम्मेवारी लिएका नेतृत्वले सफलतापूर्वक जिम्मेवारी पुरा गरे नगरेको बारे अनुगमन गरेर अघि बढ्नुपर्ने पनि बैठकमा पार्टी सदस्यहरुले सुझाव राख्नुभएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।
बैठकमा केन्द्रिय कमिटीका सदस्यहरुले आज धारणा राख्ने क्रम नसकिएकाले प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ अध्यक्ष ओलीले भोली दिनुहुने प्रचार विभाग प्रमुख गौतमले जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्