अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग विपन्न वर्गसम्म पुर्याउनुपर्नेमा समितिको जोड
काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुले जलवायु परिवर्तनबाट विपन्न वर्ग सबैभन्दा बढी पीडित भएको भन्दै अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग लक्षित वर्गसम्म पुर्याउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपालमा जलवायु परिवर्तनबाट परेको असर तथा न्यूनीकरणका लागि भइरहेका प्रयास, कोप २९ लगायतका अन्तर्राष्ट्रियस्तरका मञ्चहरूमा नेपालको सहभागिता लगायतका विषयमा आज भएको छलफलमा सांसदहरुले राज्यले अन्तर्राष्ट्रियस्तरमा गरेका छलफल र त्यसबाट भएका निर्णयहरू कार्यान्वयन गरी लक्षित वर्गलाई राहत दिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसदहरुले विकसित राष्ट्रहरूले उत्सर्जन गर्ने कार्बन र प्रदूषणबाट नेपालले क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको भन्दै यसमा बृहत् योजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै जलवायु परिवर्तन र यसबाट परेका असर न्यूनीकरण गर्ने विषयमा मन्त्रालयको योजना र अन्तरमन्त्रालयगत समन्वयको अवस्था लगायतका विषयमा सांसदहरुले मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
छलफलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्यूनीकरणमा आवश्यकता अनुसार प्रयास हुन नसकेको भन्दै अन्तर्राष्ट्रियस्तरमा भएका छलफल र निर्णयलाई आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने बताउनुभयो ।
वनका कारण विकासमा वाधा पुगिरहेको भन्ने समस्या समाधानका लागि मन्त्रालयले आवश्यक कानुनी सुधार गरी प्रक्रियालाई सरल बनाउने प्रयास भइरहेको बताउनुभयो ।
छलफलमा विज्ञहरूले जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति राम्रो भएपनि कार्यान्वयनको पक्ष भने सुधार गर्नुपर्ने बताउनुभयो ।
यस्तै विज्ञहरूले जलवायु परिवर्तनलाई दोष दिएर उम्कन नमिल्ने, दिगो विकासका योजनामा जोड दिने र अन्तर्राष्ट्रिय जगतबाट धेरै आशा गर्नेभन्दा पनि भएका स्रोतहरूलाई परिचालन गरी हामीले नै धेरै काम गर्नुपर्ने बताउनुभयो ।
जलवायु जोखिमसँग जुध्न र कार्बन उत्सर्जन घटाउने विषयमा नीतिगत संरचनाले पनि समस्या पारेको भन्दै त्यसलाई सहज बनाउनेतर्फ अगाडी बढ्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्