तपाईँ सुन्दै हुनुहुन्छः

कृषि कर्मबाटै वार्षिक ५ लाख बचत गर्दै बैजनाथका राजेन्द्र

बाँके । नेपालका लाखौँ युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेका छन्। खाडी मुलुकका चर्को घाममा पसिना बगाउँदै जीवन धानिरहेका धेरै युवाहरूको कथा यथार्थमा उस्तै छ। तर, बाँके जिल्लाको बैजनाथ गाउँपालिका–७ पेडारीका ३८ वर्षीय राजेन्द्र कुमार थारुले देशमै बसेर कृषि पेसाबाट उदाहरणीय सफलता हासिल गर्नुभएको छ। थारुले देखाएको बाटोबाट प्रेरित भएर हजारौँ युवाहरू आफ्नै देशमा केही गरौँ भन्ने सोच्न सक्छन्।

सुरुमा दुई कठ्ठा जमिनबाट तरकारी खेती थालेका राजेन्द्र थारुले अहिले आफ्नै गाउँमा तीन बिगाहा जमिनमा तरकारी खेती विस्तार गर्नुभएको छ। सिजनअनुसार उहाँले च्याउ खेतीलाई पनि प्राथमिकता दिनुभएको छ। च्याउ खेतीमा उहाँले बनाएको टहरामा ५०० डल्ला च्याउ उत्पादन हुन्छ, जसलाई प्रतिकिलो दुई सय रुपैयाँका दरले बेचिन्छ।

थारुले तरकारी खेतीमा सिमी, करेला, टमाटर, र काउली उत्पादन गर्नुहुन्छ। यसबाट वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। उहाँले आफ्नो कृषि व्यवसायबाट तीन जनालाई रोजगारी दिनुभएको छ। बजार व्यवस्थापनका लागि आफैँ उत्पादन बिक्री गर्न जानुपर्ने बाध्यता भए पनि उहाँले यसलाई निरन्तरता दिइरहनुभएको छ।

यद्यपि, थारुको यात्रा सहज छैन। उहाँले सरकारी सहयोग नपाएको गुनासो गर्नुभएको छ। बैजनाथ गाउँपालिकाले च्याउको बीउ उपलब्ध गराएको भए पनि च्याउ खेतीलाई प्राथमिकता दिँदै बजेट विनियोजन नगरेको उहाँको गुनासो छ। त्यस्तै, उत्पादनदेखि बिक्रीसम्मको सम्पूर्ण प्रक्रिया उहाँ आफैँले व्यवस्थापन गर्नुपर्छ।

राजेन्द्र थारुजस्ता प्रेरणादायक कृषकहरूको सङ्ख्या बढाउनका लागि प्रभावकारी रणनीति आवश्यक छ। यसका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ, कृषि क्षेत्रमा लगानी गर्न चाहने युवाहरूलाई सहज ऋणको पहुँच दिनुपर्छ। प्राविधिक तालिमको व्यवस्था, कृषि प्रविधिको प्रयोग बढाउन किसानलाई आवश्यक तालिम र सल्लाह दिनु आवश्यक छ।

राजेन्द्र थारुले देखाएको बाटो नेपालका अन्य युवाहरूका लागि प्रेरणा बन्न सक्छ। विदेशमा लाखौँ रुपैयाँ खर्च गरेर म्यानपावर कम्पनीलाई बुझाउनुको सट्टा, स्वदेशमै त्यो लगानी गरेर कृषिमा क्रान्ति ल्याउन सकिन्छ। कृषि पेसामा लाग्न युवाहरूलाई उत्प्रेरित गर्न सरकारले समयमै ठोस योजना ल्याउनुपर्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button