‘मेला र महोत्सवबाट देशको आर्थिक अवस्था उकास्न सहयोग पुग्छ’
भक्तपुर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मेला र महोत्सवबाट देशको आर्थिक अवस्था उकास्न सहयोग पुग्ने बताउनुभएको छ ।

मध्यपुर महोत्सव–२०८१ को बालकुमारीमा उद्घाटन गर्दै उहाँले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताउनुभयो ।
मध्यपुर थिमिका मूर्त अमूर्त सम्पदाहरूको संरक्षण गर्ने, पर्यटक भित्र्याएर देखाउने, यस ठाउँलाई चिनाउने र नयाँ पिँढीलाई सिकाउनुपर्ने औँल्याउँदै उहाँले मध्यपुर महोत्सवले मध्यपुरथिमिको मात्रै नभई देशकै आर्थिक अवस्था उकास्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाले प्रकाशन गरेको पत्रकार रत्नकृष्ण श्रेष्ठको फोटो पुस्तक ‘हाम्रो मध्यपुर थिमि’ को उहाँले बिमोचन गर्नुभयो ।
कार्यक्रममा संघीय सांसद द्वय दुर्लभ थापा र सन्तोष परियार, बागमती प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठ, नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ लगायतले महोत्सव सफल पार्न सबैको उत्तिकै सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सभापति एवं नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरको सम्पदाको संरक्षण, पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने गरि नगरपालिकाले आयोजना गरेको महोत्सवमा ५०० भन्दा बढी स्टल रहेको बताउनुभयो ।
महोत्सवबारे जानकारी दिँदै नगरपालिकाका विभागीय प्रमुख एवं सूचना अधिकारी केशव सिलवालले २६ वर्षपछि मध्यपुर थिमि नगरपालिकाले तीन दिने ‘मध्यपुर महोत्सव–२०८१’ को आयोजना गरेको बताउनभयो ।








प्रतिक्रिया राख्नुहोस्