तपाईँ सुन्दै हुनुहुन्छः

हात्ती महोत्सव र यस अन्तर्गत हुने क्रियाकलापलाई निरन्तरता दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पशु अधिकारको नाममा हात्ती महोत्सवको विरोध गर्न नहुने बताउनुभएको छ ।  

सौराहामा आजदेखि शुरु भएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले यस्ता महोत्सवले चितवनलगायत देशकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । 

हात्तीले चितवनको पर्यटन विकासमा महत्पूर्ण भूमिका निर्वाह गरेको भन्नुहुँदै उपप्रधानमन्त्री सिंहले हात्ती महोत्सव र त्यसमा हुने गतिविधिको विरोध गर्दा पर्यटन क्षेत्रमा असर पर्ने बताउनुभयो । 

“अधिकारका नाममा हात्ती महोत्सव रोकिनु हुँदैन” उहाँले भन्नुभयो, “महोत्सवलाई वन्यजन्तुमैत्री बनाउदै अझै शक्तिशाली बनाउनुपर्छ ।”, हात्तीका गतिविधि अवलोकन गर्न पर्यटन आउने भन्दै उहाँले यो सकारात्मक पक्ष भएको बताउनुभयो । 

हात्ती महोत्सव गलत प्रचारको सिकार हुन नहुने भन्दै उहाँले महोत्सवलाई प्रभावशाली बनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

वन्यजन्तुप्रति मैत्रीपूर्ण व्यवहार आवश्यक रहेको भन्दै उहाँले पर्यटकीय गतिविधिलाई कुनै पनि बहनामा विरोध गर्न नहुने बताउनुभयो । 

चितवनको सफारी देशकै पर्यटन उद्योगको अनुपम नमुना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले हात्ती महोत्सव र यस अन्तर्गत हुने क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । 

स्थानीय जनतालाई फाइदा हुने गरी जैविक विविधताको न्यायोचित प्रयोग गर्नुपर्ने भन्नुहुँदै उहाँले यसको संरक्षण र पर्यटनलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

प्रदेशसभा सांसद कृष्णप्रसाद खनालले पशु अधिकारकर्मीहरूले हात्ती महोत्सवको विरोध गर्नुको अर्थ नभएको बताउनुभयो । उहाँले बृहत् पर्यटन विकास समिति गठन गरी सोही समितिले हात्ती महोत्सव गर्नुपर्ने सुझाव दिनुभयो । 

कार्यक्रममा महोत्सवका संयोजक रामकुमार अर्यालले सौराहामा दुई दशक अघिदेखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहासहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरूको आगमनमा वृद्धि हुने गरेको बताउनुभयो ।  

हात्ती महोत्सव अन्तर्गत हात्तीको शृङ्गार, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगोदौड प्रतियोगिता, लगायतका कार्यक्रम हुने संघका महासचिव गुणराज श्रेष्ठले जानकारी दिनुभयो । 

महोत्सवको विभिन्न गतिविधिमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी गराइएको छ  । 

रत्ननगर नगरपालिका संरक्षक रहेको सो हात्ती महोत्सवको सह आयोजकमा यूनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजक छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button