फाल्गुनन्द गोल्डकप : विराटनगरलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
पाँचथर । पाँचथरको फिदिममा सञ्चालन भइरहेको ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौँको चर्च व्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार फिदिम मा.वि.को खेलमैदानमा सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा विराटनगर सिटी फुटबल क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै चर्च व्याइज सेमिफाइनलमा पुगेको हो ।
चर्च ब्याइजका तर्फबाट दिपेश गुरुङले १ गोल गर्दा समिर तामाङ र विदेशी खेलाडी अर्मान्ड बेडले ह्याट्रिक गरे । विराटनगर सिटीको तर्फबाट सुमन चम्लागाईले सान्त्वना १ गोल गरे ।
खेलको म्यान अफ द म्याच चर्च व्वाइजका समिर तामाङ घोषित हुँदै नगद १० हजार रूपैँया प्राप्त गरे । बाइ पाएर क्वाटरफाइनल खेलेको विराटनगर सिटी फुटबल क्लब हार सँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
बिहीबार हुने खेलमा एनआरटी क्लब काठमाडौँ र सहलेस युवा क्लब सिराहा बीच प्रतिस्पर्धा हुनेछ ।
फिदिम स्पोर्टिङ क्लबको आयोजनामा आगामी पुस १५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशी जिल्लाकै सर्वाधिक हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछन् ।
यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १०र १० हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया राख्नुहोस्