स्याङ्जाको कोल्मामा सम्पन्न पाँचौँ संस्करणको क्रस कन्ट्री दौडको उपाधि आर्मीका रावललाई
पोखरा । स्याङ्जाको कोल्मामा सम्पन्न भएको क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाल आर्मीका करण रावलले उपाधि जितेका छन्। ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरिएको राष्ट्रिय स्तरको क्रस कन्ट्री दौडमा रावलले निर्धारित २५ किलो मिटर दुरी १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नु भएको हो ।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको क्रस कन्ट्री दौडमा नेपाली सेनाकै टंक बहादुर कार्कीले १ घण्टा ३२ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो हुनु भयो भने निर्धारित दुरी १ घण्टा ३२ मिनेट ५६ सेकेण्डमा पार गर्दै रमेश लिम्बुले तेस्रो स्थान हासिल गर्नु भयो । काकीले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा लिम्बुले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नु भयो ।
पुतलीबजार नगरपालिका–९ कोल्मा बराहचौरबाट सुरु सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन बराहचौरमा आएर टुङ्गिएको हो । त्यसैगरी २१ वर्षमुनिका पुरुषतर्फ १० किलोमिटर क्रस कन्ट्री दौडको उपाधि सनम गुरुङले जित्नु भयो । निर्धारित दुरी ४६ मिनेट ३५ सेकेन्डमा पार गर्दै गुरुङले उपाधि सहित नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता सल्यानका रुद्र बुढाथोकीले ५० मिनेट १४ सेकेन्डमा दूरी पार गर्नु भएको हो । उप विजेता बुढाथोकीले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भयो । प्रतियोगितामा गोर्खाका अशोक बरामले निर्धारित दुरी ५१ मिनेट ५१ सेकेण्डमा पार गर्दै तेस्रो स्थान सहित नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भयो ।
खुला महिलातर्फ १० किलोमिटर क्रसकन्ट्री दौडमा रविना बुढामगरले एक घण्टा १२ मिनेट २६ सेकेन्डमा पूरा गर्दै उपाधि हात पार्नु भयो । बुढामगरले उपाधि सहित नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन उपविजेता विमला मानन्धरले एक घण्टा १५ मिनेट २८ सेकेन्डमा दूरी पूरा गरेर नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल हुनु भयो ।
प्रतियोगिताको अर्को विद्या विद्यार्थीतर्फ पाँच किलोमिटर दौडमा कोल्मा बराहचौरका विद्यार्थीको समूह विजेता र उपविजेता बन्दा जनजागृति माध्यमिक विद्यालयको समूहले तेस्रो स्थान प्राप्त गर्नुभयो । रिले दौडको विजेताले नगद १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद आठ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो स्थान हाँसिल गर्नेले नगद चार हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल हुनु भयो ।
प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष सुबेदार मेजर दूत प्रसाद गुरुङ, गण्डकी प्रदेशका पूर्व मन्त्री द्वय दीपक घर्ती मगर, मेखलाल श्रेष्ठ, पुतली बजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय सम्भावना बोकेको कोल्मामा खेलकुदको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रातो किताबमै समेटेर बजेट निकासा गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । त्यसैगरी कोल्माकोट र कोल्मामा निर्माणाधीन बौद्ध गुम्बाको लागि समेत गण्डकी प्रदेश सरकारले सहयोग गर्ने उहाँले वचन दिनु भयो ।
प्रतिक्रिया राख्नुहोस्