तपाईँ सुन्दै हुनुहुन्छः

महिला समिति बैठक : प्रत्येक दिन २० जनाले आत्महत्या गर्ने गरेकाे तथ्याङ्क

आत्महत्याका घटना हुनुअघि उपचारात्मक कार्यक्रम  सञ्चालन गर्न सरकारलाई सांसदहरुले सुझाव

काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले दिनानुदिन बढ्दै गइरहेको आत्महत्या समस्या समाधानका सम्बन्धमा छलफल गरेको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले आत्महत्या बढ्दै जानुको कारण पत्ता लगाइ तत्काल योजना बनाएर काम गर्न नसके आत्महत्या दर बढ्दै जाने विचार व्यक्त गर्नुभयो । 

आत्महत्याका घटना हुनुअघि उपचारात्मक कार्यक्रम  सञ्चालन गर्न सरकारलाई सांसदहरुले सुझाव दिनुभयो ।

नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो समस्याका रुपमा देखिएको मानसिक स्वास्थ्यका लागि सरकारले अलग्गै बजेट छुट्याउनुुपर्नेमा जोड दिँदै सांसदहरुले रोजगारी तथा पेसा व्यवसायमा आम नागरिकलाई अवसर प्रदान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले आत्महत्या एउटा रोग भएकाले बेलैमा समस्या समाधान नगरे विकराल अवस्था आउने बताउनुभयो । 

प्रत्येक दिन २० जनाले आत्महत्या गर्ने तथ्याङ्क रहेको उल्लेख गर्दै सचिव पोखरलेले एक सय बेडभन्दा बढीका अस्पतालहरूमा अनिवार्य एकजना मानसिक स्वास्थ्य चिकित्सक खटाइएको जानकारी गराउनुभयो । 

समुदाय स्तरमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाका लागि सरकारले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउँदै सचिव पोखरेलले कुल बजेटको एक  दशमलव आठ प्रतिशत मानसिक स्वास्थ्यमै खर्च गरिएको बताउनुभयो । 

बैठकमा गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालले आर्थिक भार, असफल प्रेम, बेरोजगार र हिंसाका कारण आत्महत्या गर्ने गरेको अध्ययनबाट देखिएको बताउनुभयो । 

आत्महत्या न्यूनीकरणका लागि नेपाल प्रहरीले कार्ययोजना बनाएर काम गरिरहेको सहसचिव रिजालले  बैठकलाई जानकारी गराउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button