तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु परिवर्तनको असर स्थानीय तहमा बढी: मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु कार्यको स्थानीयकरण सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोण’ विषयक बागमती प्रदेश संवाद कार्यक्रममा आज उहाँले जलवायु परिवर्तनका कारण स्थानीय स्तरमा परम्परागत सीप, ज्ञान, खाद्यान्नलगायत जीवनशैलीमा नै प्रभाव पारेका कारण अब न्यायको मुद्दा सशक्त बनाइनुपर्नेमा जोड दिनुभयो । 

मुख्यमन्त्री लामाले वातावरण प्रदूषण हुँदा सबैलाई प्रभाव पार्ने बताउनुभयो । उहाँले वातावरण प्रभाव मूल्याङ्कन गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै कानुन बनाएर काम गर्नुपर्ने धारणा राख्नुभयो । जलवायु परिवर्तनको प्रभाव स्थानीय स्तरमा बढी पर्ने भएकाले यसको सचेतना स्थानीय तहमा बढी हुनुपर्ने उहाँको भनाइ छ ।

बागमती प्रदेश सरकारको सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले जलवायु परिवर्तनको असर बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले नीतिगत रूपमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सार्वजनिक सम्पदा जोगाउन नसके पहिचान पनि मेटिँदै जाने उल्लेख गर्नुभयो । 

वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सुविधाका नाममा पृथ्वीलाई मानव समुदायले विनाश गर्दै लगेको उल्लेख गर्दै 

जलवायु परिवर्तनले हिमाल पग्लँदै गएको र तटीय बस्तीका समुदाय जोखिममा रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

बागमती प्रदेशसभा सदस्य एवम् वन तथा वातावरण समिति सदस्य भारती पाठकले समन्वय, सहकार्य र सहअस्तित्वसहित अगाडि बढेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीनवटै तहको सरकारबीच समन्वय नहुँदा समस्या भएको बताउनुभयो । 

प्रदेशस्तरीय संवाद कार्यक्रममा सङ्घीय सरकारले निर्माण गरेका जलवायुसम्बन्धी नीति, ऐनलाई स्थानीय तहसम्म ल्याउँदा परेको कठिनाइ, समस्यालाई कसरी समाधान गर्नेलगायत विषयमा बृहत् छलफल भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button