तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा अपाङ्ग बालबालिकाको सङ्ख्या अन्य प्रदेशको तुलनामा बढी

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा अन्य प्रदेशका तुलनामा अपाङ्ग बालबालिकाको सङ्ख्या अधिक भएकाले उनीहरूको शिक्षा तथा स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिइएको छ । 

राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा आज जनकपुरधाममा सम्पन्न भएको प्रदेश स्तरीय छलफल कार्यक्रममा मधेश प्रदेशका जिल्लाहरूमा बालबालिकाको कूल जनसङ्ख्यामा १५.२ प्रतिशत अपाङ्ग बालबालिका रहेकाले उनीहरूको शिक्षा तथा अन्य सामाजिक सेवाको क्षेत्रमा विशेष ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिइएको हो । 

राष्ट्रिय स्तरमा १.२३ प्रतिशत अपाङ्ग बालबालिकाको सङ्ख्या भएको र मधेशमा बढी रहेको परिषद्का प्रशासन महाशाखाका प्रमुख एवं सूचना अधिकारी राम बहादुर चन्दले जानकारी दिँदै उनीहरूको स्वास्थ्य शिक्षा तथा सिप एवं रोजगारीमा विशेष ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिनु भयो । साथै अपाङ्गता हुन नदिनका लागि गर्भवती महिलाको विशेष स्वास्थ्य जाँच सहितको उपायहरू अबलम्बन हुनु पर्ने आवश्यकतामा चन्दले प्रस्तुत गर्नु भएको कार्यपत्रमा उल्लेख रहेको छ ।

सो अवसरमा शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमीका प्रतिनिधि दिपक माझीले कार्यपत्र प्रस्तुत गर्दै गर्भमा नै शिशु राम्रोसँग पहिचान गरेर शिशुको सुरक्षाका लागि कदम चालेको खण्डमा बढ्दो अपाङ्गता भएको शिशुको सङ्ख्यामा कमी ल्याउन सकिने बताउनु भयो । 

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का मधेश प्रदेशका बालअधिकारी सञ्जीव महतोले खास गरेर अपाङ्ग बालबालिकाको स्वास्थ्य तथा शिक्षामा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न कार्यक्रमको आयोजना गरेको जानकारी दिँदै तीनै तहका सरकारले यसमा विशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो । 

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले अपाङ्गहरूको स्वास्थ्य तथा शिक्षामा विशेष ध्यान दिनका लागि उपमहानगरपालिकाले काम गरेको बताउँदै अपाङ्गको वर्गीकरण गरेर सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र दिने गरेको बताउनु भयो । 

मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रले मधेश प्रदेश सरकारले अपाङ्गमैत्री संरचनाको निर्माणका साथै फरक क्षमता भएकाहरूको लागि विभिन्न प्रकारको सामाजिक सुरक्षाको कार्यक्रम गरेको बताउनुभयो । 

कार्यक्रममा विभिन्न पालिकाका सामाजिक सुरक्षा शाखाका प्रमुखहरू, अपाङ्गहरूको लागि काम गर्ने संघ संस्थाका प्रतिनिधिहरू, मधेश प्रदेशका गाउँपालिका संघका अध्यक्ष जवाहरलाल यादव, विभिन्न पालिकाका उपप्रमुखहरू सहभागी भएर आ–आफ्नो विचार राख्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button