खेल पूर्वाधार बनाउन ३५ लाखको जग्गा दान
जुम्ला । अन्तर्राष्ट्रिय धावक हरि बहादुर रोकायाले होस्टेल बनाउनका लागि १३० वर्गमिटर जग्गा दान गरेका छन् । खेलाडी बस्ने सुविधायुक्त होस्टेल निर्माणार्थ विश्व कीर्तिमानी धावक रोकायाले १३० वर्गमिटर जग्गा दान गरेका हुन् ।
जुम्लाको खेल जगतको प्रवर्द्धन तथा नयाँ खेलाडी उत्पादनका लागि उल्लेखीय योगदान गरिरहेका धावक रोकायाले करिब ३५ लाख बराबर मूल्य पर्ने चन्दनाथ नगरपालिका ५ स्थित बजारको मध्य भागमा रहेको १३० वर्गमिटर जग्गा कर्णाली स्पोर्ट क्लबका नाममा दान गरेको कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।
पूर्वाधार अभावले नियमित अभ्यास तथा प्रशिक्षणमा कठिनाई भोगी रहेका एथलेटिक्स खेलाडीहरूको समस्यालाई मध्यनजर गर्दै जग्गा दान गर्ने धावक रोकायालाई कर्णाली स्पोर्ट क्लबले सम्मान गरेको छ ।
नयाँ खेलाडीको प्रवर्द्धन तथा उत्साहका लागि जग्गा दान गरी उदाहरणीय काम गरेको भन्दै क्लबले एक औपचारिक कार्यक्रम गरी सम्मान गरेको हो । सम्मान कार्यक्रममा धावक हरि बहादुर रोकायाले आफूले अभ्यास गर्दादेखि हाल सम्म पूर्वाधार अभावले खेलाडी खुम्चिनु परेको बाध्यतालाई मध्यनजर गरी जग्गा दान गरेको बताउनुभयो ।
जुम्लामा खेल क्षेत्रको सम्भावना र आकर्षणलाई मध्यनजर गरी जग्गा दान गर्न पाउँदा खुसी लागेको समेत उल्लेख गरे । जुम्ला र समग्र राष्ट्रको खेलकुदका लागि हरि रोकायाले गरेको योगदान अनुकरणीय रहेको क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।
‘झण्डै ३५ लाख रुपैयाँ मूल्य बराबरको जग्गा निःशुल्क दिएर जुम्लाको खेलकुद क्षेत्रको भविष्यलाई थप बलियो बनाउन टेवा पुगेको छ । यो जमिन कर्णाली क्षेत्रमै पहिलो आधुनिक उच्च प्रशिक्षण केन्द्र निर्माणका लागि उपयोग गरिने भएको छ ।
जग्गा प्राप्त सँगै चाडै भवन निर्माणका लागि पहल थालिने कुराले जुम्लाका खेलाडीहरूलाई उच्चस्तरीय प्रशिक्षण र आवासीय सुविधाको अभावका कारण हुने कठिनाइको अन्त्य हुने अपेक्षा गरिएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताउनुभयो ।
१३० वर्गमिटर जग्गामा चार तले आधुनिक पक्की भवन निर्माण गर्ने योजना तयार भइसकेको छ । इन्जिनियर नवीन शाही र उत्तम रोकायाको नेतृत्वमा तयार गरिएको नक्साअनुसार पहिलो तलामा अत्याधुनिक फिटनेस क्लब सञ्चालन हुने ।
त्यस्तै दोस्रो तलामा क्लबको प्रशासनिक कामकाजका लागि कार्यालय कक्षहरू निर्माण हुने छन् । भने, तेस्रो र चौथो तलामा छात्रावास सुविधाका लागि संरचना बनाइने भएको छ । जिल्लाका विभिन्न ठाउँबाट अभ्यासका लागि सदरमुकाम बस्ने खेलाडीले निश्चित शुल्क तिरेर बस्न पाउने छन् ।
संरचना निर्माणको नक्सा तयार भइसकेको र लगानी जुटाउन पहल थालिने समेत कर्णाली स्पोर्ट क्लबका सचिव मधुराज न्यौपानेले बताए । विशेष परियोजनाका निर्माण हुने संरचनाले ग्रामीण क्षेत्रका खेलाडीहरूलाई सशक्त बनाउन टेवा पुराउने विश्वास गरिएको सचिव न्यौपानेको भनाई छ ।
नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले कर्णाली स्पोर्ट क्लब र धावक रोकायाको योगदानकै कारण सुनमाया बुढा जस्ता अन्तर्राष्ट्रिय धाविका जन्माएको भन्दै संस्थागत विकासका लागि जग्गादान निकै उत्कृष्ट कार्य भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्