जनकपुर बोल्टसलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा
काठमाडौँ । जनकपुर बोल्टसलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ ।
सुदूरपश्चिमले जनकपुरलाई आठ विकेटले पराजित गर्दै पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान पक्का गरेको हो । जनकपरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
सुदूरपश्चिमका लागि ओपनर बिनोद भण्डारीले अर्धसतकीय पारी खेले । उनले ५८ रन बनाए । यस्तै अर्का ओपनर सेफ जैब ३२ रन बनाएर आउट भए । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २५ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । जनकपुरका लागि जिमि निशामले सर्वाधिक ४५ रन बनाए । यस्तै शुभ कंसाकारले २६, लाहिरु मिलान्था र हर्ष ठाकेरले समान १२ १२, तथा कप्तान आसिफ शेख र अर्निको यादवले समान ११ ११ रन बनाए ।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सेफ जैबले दुई तथा स्कट कुग्गेलिन र अभिनाष बोहोराले एक एक विकेट लिए । पराजित जनकपुरले बिहीबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । उक्त खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछन् ।
अर्को खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
कर्णालीले दिएको १७६ रनको विशाल लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो । चितवनका लागि ब्याटिङतर्फ रबि बोपराले अर्धशतकीय पारी खेले । उनले ५३ रन बनाएर आउट भए । यस्तै, कप्तान कुशल मल्ल २१, विपिन रावल १८, ल्युक बेन्केनस्टेनले १७ रन बनाए ।
यता, कर्णालीका लागि बलिङतर्फ जयकिसन कोल्थावालाले तीन विकेट लिँदा कप्तान सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।
कर्णालीका लागि ब्याटिङतर्फ ओपन जयकिसन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतकीय पारी खेले । कोल्सावाला ५३ रनमा आउट भए । विलियम बोसिस्टाले ५२ रन बनाउँदा, चार्डविक वाल्टन ४६ रनमा अविजित रहे ।
यता, बलिङतर्फ चितवनका लागि सोहेल तनबिरले दुई विकेट लिँदा शरद भेषवाकर, कप्तान कुशल मल्ल, रबि बोपाराले समान एक एक विकेट हात पारे ।
हारसँगै चितवन बाहिरिएको छ भने कर्णालीले दोस्रो क्वालिफायर खेल्ने भएको छ । जनकपुरले बिहीबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । उक्त खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछन् ।
प्रतिक्रिया राख्नुहोस्