दोस्रो बागमती प्रदेश लिग फुटबल पुस १० गतेबाट हुने

मकवानपुर । दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता आगामी पुस १० गतेबाट हुने भएको छ । मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश फुटबल सङ्घले प्रतियोगिता बारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरीले आगामी पुस १० गतेबाट हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा प्रतियोगिता हुने बताउनुभयो । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार प्रदेश फुटबल सङ्घको आयोजनामा सञ्चालन हुन लागेको प्रदेश लिग फुटबल प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा ११ जिल्लामा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमहरूको सहभागिता रहने उहाँले बताउनुभयो । प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लब, काठमाडौँको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पलाईन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिवासी युवा समाज, नुवाकोट बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बिएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लब सहभागी हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ र काभ्रेपलाञ्चोक बीच प्रतिस्पर्धा हुनेछ । पहिलो संस्करणको उपाधि धादिङले जितेको थियो ।
कुल ३१ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजनाका लागि करिब ३१ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा, एन्फाका केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, प्रदेश फुटबल संघका कार्यवाहक अध्यक्ष राजीव बस्नेत, जिल्लाका उपाध्यक्ष युवराज लामा, महासचिव छवि सुवेदी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्