तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री आचार्यद्वारा थारु सांस्कृतिक भवनको उद्घाटन

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियाको बाँसगढीमा थारु सांस्कृतिक केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ। प्राचीन सृजनशील आदिवासी समाज रेडियो गुर्वावा एफएमले निर्माण गरेको यो भवन अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर उद्घाटन गरिएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सिमान्तकृत तथा पिछडिएका वर्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रमलाई समावेशी बनाएको बताउनुभयो। उहाँले प्रदेश निजामती सेवामा थारु समुदायका लागि १३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो।

समारोहमा मुख्यमन्त्री आचार्यले समाज रूपान्तरणको अभियानलाई अघि बढाउन प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले सामाजिक सद्भावलाई अझ सुदृढ गर्दै समुन्नत समाज निर्माणको दिशामा यो दिनलाई कोशेढुंगा बताउनुभयो।

अव्यवस्थित बसोबासी, भूमिहीन दलित, र सुकुम्वासीहरूको समस्या समाधानका लागि तीनै तहका सरकारहरू मिलेर प्रभावकारी भूमिका खेलिरहेको जानकारी मुख्यमन्त्री आचार्यले दिनुभयो।

स्थानीय टीकाराम पौडेलले दान दिएको डेढ कठ्ठा जग्गा, डेनमार्कका फ्लेमिङ टपसोयले उपलब्ध गराएको ५५ लाख रुपैयाँ, समाजको २६ लाख, लुम्बिनी प्रदेश सरकारको २० लाख, र बाँसगढी नगरपालिकाको १५ लाख रुपैयाँको सहयोगमा कुल १ करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी गराइयो।

थारु समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धनका लागि यो भवन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button