अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको उपलक्षमा जलपान समारोहको आयोजना
काठमाडौँ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको उपलक्षमा आज सिंहदरबारमा जलपान समारोहको आयोजना गरियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दहाल, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, अर्का उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीहरू, विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरू, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।
समारोहलाई सम्बोधन गर्नुहुँदै सभामुख देवराज घिमिरेले मानवअधिकारको विश्वव्यापी मान्यताप्रति नेपाल प्रतिबद्ध रहेको र त्यस अनुरुप संविधानमा गरिएका व्यवस्थाको कार्यान्वयनमा पनि लागिरहेको बताउनुभयो ।
सभामुख घिमिरेले तीन तहकै सरकारले मौलिक हकको सुनिश्चित गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार संस्कृतिको निर्माण हुँदै गएकोमा खुशि व्यक्त गर्नुहुँदै त्यसलाई अझै प्रभावकारी बनाउँदै सुरक्षित विश्वको निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले समतामुलक समाजको निर्माण गरी मानवअधिकारको सम्मान गर्न सकिने भएकाले समाजमा रहको विभेदको उन्मुलन गर्दै जानुपर्ने बताउनुभयो ।
हरेक वर्षको डिसेम्बर १० मा मनाइने अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपालले पनि वर्षेनी विविध कार्यक्रमको आयोजना गरी मनाउँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्