तपाईँ सुन्दै हुनुहुन्छः

जनतालाई सुशासनको प्रत्याभूति दिलाउन आवश्यक छ : मन्त्री यादव

विराटनगर । खानेपानी मन्त्री प्रदीप यादवले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन पनि दिनुभएको छ । 

खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनमा आज विराटनगरमा आयोजित ‘सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी २०८१’को उद्घाटनका अवसरमा उहाँले उक्त निर्देशन दिनुभएको हो । 

उहाँले भन्नुभयो, “जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना तथा गुनासोको प्रभावकारी व्यवस्थापन गराउन, वित्तीय अनुशासन कायम गराउन र बेरुजु फर्छ्यौटका लागि अविलम्ब पेस गरी, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन आवश्यक छ ।” 

देश, राष्ट्र, राष्ट्रियताका पक्षमा उभिएर एवं आम नेपाली नागरिकलाई कर्मचारीले सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो । 

मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यले आयोजनाको दोहोरोपना हटाउने गरी काम गर्न निर्देशन दिनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले बेरुजु र भ्रष्टाचार फरक कुरा भएकाले बेरुजु फर्छ्यौटका लागि सङ्घीय कार्यालय र प्रदेश डिभिजन कार्यालयको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button