चितवनमा राष्ट्रिय स्तरको महिला फुटबल हुँदै
चितवन । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा यही मङ्सिर २२ गतेबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिका–९ स्थित रत्नप्रिय क्लबले तेस्रो रत्नप्रिय कप महिला फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । प्रतियोगिताको ८० प्रतिशत तयारी सकिएको र राष्ट्रिय स्तरका ८ वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष बसन्त रानाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टिमलाई १ लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ सहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिनुभयो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई ५/५ हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा आयोजक रत्नप्रिय क्लबसहित सङ्कटा क्लब, बागमती युवा क्लब सर्लाही, हेटौडा फुटबल एकेडेमी, निजगढ फुटबल क्लब, अभिषेक चर्ज रजहर, पद्मा स्पोटर्स क्लब ओखलढुङ्गाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता मङ्सिर २९ गते सम्म चल्ने छ ।
प्रतिक्रिया राख्नुहोस्