एनपीएल क्रिकेट : चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हरायो
काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलवार भएको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराउँदै आफ्नो लगातार दोस्रो जित दर्ता गरेको छ ।
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पोखरा एभेन्जर्सको ब्याटिङ भने कमजोर रह्यो । चितवनलाई जित दिलाउन सोहेल तन्वीर, रिजन ढकाल र लुक बेन्केनस्टेइनले समान तीन विकेट लिए । एक विकेट दीपक बोहराको नाममा रह्यो । पोखराले खेलको ३.२ ओभरमै ६ विकेट गुमाउँदै ७ रन मात्र बनाउन सक्यो ।
पोखराले केही सम्हाल्ने प्रयास गरे पनि १३.२ ओभरमा ७४ रनमै अलआउट भयो । मार्कस क्रिचले १७ र नारायण जोशीले ३० रन बनाउँदै केही योगदान दिए । बाँकी ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । चितवनका लागि रवि बोपराले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ५१ रन बनाए। कप्तान कुशल मल्लले ३८, लुक बेन्केनस्टाइनले १६ र हसन इसाखिलले १४ रनको योगदान दिए ।
पोखराका बलरहरूमध्ये विपिन खत्री र बास डी लिडेले २–२ विकेट लिए भने सागर ढकाल र रेमन रेफरले १–१ विकेट हात पारे ।
लगातार दोस्रो जित हासिल गरेको चितवनको ४ अङ्क भएको छ । पहिलो खेलमै लज्जास्पद हार बेहोरेको पोखराले कुनै अङ्क जोड्न सकेन । चितवनले आफ्नो पहिलो खेलमा काठमाडौँ गुखार्जलाई पाँच विकेटले हराएको थियो । चितवनले अब तेस्रो खेलमा शुक्रबार कर्णाली याक्सको सामना गर्नेछ । पोखराले आफ्नो दोस्रो खेलमा बिहीबार जनकपुर बोल्ट्सको सामना गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्