‘गढीमाई मेलाले विश्वमा नेपालको धार्मिक पर्यटनमा छुट्टै पहिचान बनाएको छ’
वीरगञ्ज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकको धार्मिक पर्यटन प्रवर्द्धनमा विश्व प्रसिद्ध गढीमाई मेलाले छुट्टै पहिचान बनाएकाले यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ ।
बारा जिल्लाको बरियारपुरमा रहेको पञ्चवर्षीय गढीमाई मेलाको स्थलगत अवलोकन तथा गढीमाईको दर्शनका लागि आइपुग्नुभएका कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहले गढीमाई मेलाले विश्वमै नेपालको धार्मिक पर्यटनमा छुट्टै पहिचान बनाएको बताउनुभयो ।
उहाँले गढीमाई दर्शन गरेमा मनोकामना पूरा हुने भएकोले आफूले दर्शन गर्न पाउँदा निकै खुशी महशुस गरेको बताउँदै गढीमाई मन्दिर मधेश प्रदेशको मात्रै नभई पुरै नेपालको ठूलो धार्मिक स्थल रहेको बताउनुभयो ।
प्रत्येक पाँच वर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेला मङ्सिर १ गतेदेखि सुरु भएको छ ।
मूल पूजा सोमबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेसँगै सुरु भएको हो ।
कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई गढीमाई मेला मूल व्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले मेलाको व्यवस्थापन र आवश्यक सामाग्रीबारे जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्