न्यायको अनुभूति दिलाउँदै न्यायिक समिति
सल्यान । न्यायिक समितिलाई संविधानले देवानी प्रकृतिका विवाद स्थानीय तहबाट निराकरण गर्नसक्ने अधिकार दिएको छ । स्थानीयस्तरमै विवाद समाधान गर्न थालिएपछि न्यायालयमा धाउनुपर्दा सास्ती भोग्नुपर्ने समस्याबाट नागरिकलाई सहज भएको छ ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाको न्यायिक समिति स्थानीयस्तरमा विवाद समाधानको लागि महत्वपूर्ण निकाय बनेको छ । विवाद समाधानका लागि न्यायिक समितिको मध्यस्थता, मेलमिलाप, र निर्णय गर्ने कार्य प्रभावकारी देखिएको छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बुद्धा कुमारी खत्रीको दाबी रहेको छ ।
“वर्षौँ अघि देखिको घरायसी विवाद पनि समाधान भएका छन्”, उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाको न्यायिक समितिले कानूनी प्रक्रिया र मेलमिलापलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । हामीले धेरैजसो विवादलाई दुवै पक्षको हित हुने गरी समाधान गरेका छौँ ।” समुदायमा सानातिना विवादहरू अदालतसम्म जानुपर्ने अवस्थालाई कम गरेर स्थानीयस्तरमै सहमतिको वातावरण सिर्जना गर्न सफल भएको उहाँको भनाई छ ।
छत्रेश्वरी गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० देखि चालु आर्थिक वर्षको हालसम्म ६२ वटा विवादहरू दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ को मङ्सिर ९ गतेसम्म दर्ता भएका नयाँ मुद्दा ५ र गत वर्षका मुद्दा ६ गरेर जम्मा ११ मध्ये ४ वटा मुद्दा मिलापत्र भएको र बाँकी ७ वटा प्रक्रियामा रहेको न्यायिक शाखाले जनाएको छ ।
न्यायिक समितिप्रति नागरिकको विश्वास रहेको भन्दै गाउँपालिकाले मेलमिलाप प्रक्रियाबाट गरिएका निर्णयहरूले दुवै पक्षलाई न्यायको अनुभूति गराएको न्यायिक शाखामा कार्यरत कानुनी सल्लाहकार तथा अधिवक्ता अमर थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्