नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने हेतुले आगामी पुस ११ र १२ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ ।
मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अतिरिक्त सचिव डा.टंक बारकोटीले स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन गर्ने सम्मेलनको उद्देश्य रहेको जानकारी दिनुभयो ।
सम्मेलनमा विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी चुनौतीको समाधान खोज्न र संवाद गर्ने मन्त्रालयले जनाएको छ ।
प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालासँग आपसी सिकाइ र दीर्घकालीन रणनीति निर्माणमा सम्मेलन कोशेढुङ्गा साबित हुने मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भिमप्रसाद सापकोटा बताउनुभयो ।
डिजिटल उपकरण र प्रविधिको प्रयोगले स्वास्थ्य सेवामा ल्याउन सक्ने सुधार र प्रभावबारे पहिचान तथा प्रवासी समुदायसँगको साझेदारी सुदृढ गर्न नीतिगत ढाँचाहरूबारे सम्मेलनमा छलफल गरिने जनाइएको छ ।
मन्त्रालयले अनुसन्धान, शिक्षा, र स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन अघि बढाउन अनुसन्धान र शैक्षिक पहललाई प्रोत्साहन गर्ने तथा सबै स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता संस्थाहरू र विश्वका ९० भन्दा बढी मुलुकमा रहेका स्वास्थ्य सम्बन्धी विषयमा क्रियाशील प्रवासी नेपालीको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्